राईलाई ‘नागरिक सम्मान’ र सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’

मुख्य समाचार राजनीति

काठमाडौं ६ पुस । खोटाङ सेवा समाज युके (बेलायत)ले खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङ्गेले स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी जयकुमार राईलाई ‘नागरिक सम्मान’ र साहित्यकार एवं प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।

समाजले राजधानी काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा आज आयोजित कार्यक्रममा शिक्षाविद् राईलाई नगद रु ५० हजार र ताम्रपत्रसहितको ‘नागरिक सम्मान’ र प्राध्यापक डाक्टर सुवेदीलाई नगद रु २५ हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको जनाइएको छ । शिक्षाविद् राई र प्राध्यापक डाक्टर सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेले दोसल्ला ओढाएर थैलीमा राखिएको नगद तथा ताम्रपत्र प्रदान गर्नुभएको हो ।

सन् २००७ मा बेलायतमा स्थापना गरिएको खोटाङ सेवा समाज युकेको प्रतिष्ठित पुरस्कार पाउने शिक्षाविद् राई र प्राध्यापक डाक्टर सुवेदी पाँचौँ जोडी हुनुहुन्छ । पुरस्कृत प्राध्यापक डाक्टर सुवेदी अध्यापनको सिलसिलामा चीनमा रहनुभएकाले सो पुरस्कार उहाँकी श्रीमती डा यादेवी ढकालले ग्रहण गर्नुभएको पुरस्कार वितरण कार्यक्रमका सहजकर्ता एवं गायक रेवत राईले जानकारी दिनुभयो ।

पुरस्कार प्रदान कार्यक्रममा खोटाङ घर भई राजधानी काठमाडौँ बसोबास गरिरहनुभएका शिक्षाविद्, समाजसेवी, साहित्य तथा सङ्गीतकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित शिक्षाविद् राईका बारेमा डाक्टर विष्णु राई र प्राध्यापक डाक्टर सुवेदीको परिचय टङ्क भट्टराईले गराउनुभएको थियो ।

समाजले पाँच वर्षदेखि निरन्तर प्रदान गर्दै आएको पुरस्कारअन्तर्गत गत वर्ष नागरिक सम्मानबाट स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राई र प्रतिभा पुरस्कारबाट सञ्चार तथा समाजसेवी टङ्कबहादुर थापालाई पुरस्कृत गरेको थियो । खोटाङ जिल्लामा जन्मिएर आफ्नो जिल्लाको नाम उँचो राख्न योगदान गर्ने दुई जना व्यक्तित्वलाई प्रोत्साहनस्वरुप हरेक वर्ष पुरस्कृत गर्ने गरिएको कार्यक्रम संयोजक जगत नवोदितले जानकारी दिनुभयो ।

विकास निर्माण, प्राकृतिक प्रकोप लगायतमा सहयोग गर्दै आएको समाजले गत वर्ष खोटाङ जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक वटा अल्ट्रासाउण्ड मेसिन उपलब्ध निःशुल्क गराएको थियो । समाजले बेलायतमा दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन खरीद गरेको हो ।