काठमाडौं १२ फागुन । प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण शुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आज कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भएको थियो । ती गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पुर्याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)को सहायताले डाँडासम्म पानी पुर्याइएको हो ।
प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की एक, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एकएक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको सचिव बेल्बासेले जानकारी दिनुभयो । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।
आयोजना निर्माणपूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भएको हो । हालसम्म यहाँका दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरपरिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कुम्मायक गाउँपालिकामा पर्ने साबिकका तीन गाविसलाई अँध्यारोमुक्त घोषणा गर्नुभयो । हाल कुम्मायक–१, ३, ४ र ५ मा पुनर्संरचित साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अँध्यारोमुक्त घोषणा भएका हुन् । चार वर्षअघिदेखि विद्युत् विस्तारको काम शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको हो । साबिक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत् सहकारी संस्थाको अगुवाइमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युतीकरण सम्पन्न भएको हो । नेपाल सरकारको रु दुई करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताबाट सङ्कलित रु २६ लाख १४ हजार ७४९ को लागतमा यहाँ विद्युतीकरण पूरा भएको हो । यहाँ त्रिपुरेश्वर कन्डक्टर/जयदुर्गे इन्जिनीयरिङ जेभी, काठमाडौँले विद्युतीकरण गरेको थियो ।
यस्तै यासोक र रानीगाउँमा फिदिम विद्युत् सहकारी संस्था लिमिटेडको अगुवाइमा रु सात करोड ९० लाख चार हजार २८० को लागतमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ उपभोक्ताले रु ७९ लाख ४२८ सङ्कलन गरेका थिए भने नेपाल सरकारको रु सात करोड ११ लाख तीन हजार ८५२ लगानी छ । यहाँ हालसम्म एक हजार ११५ घरमा विद्युतीकरण पूरा भएको सहकारी संस्थाले जनाएको छ । यहाँ वाइवा इन्फ्राटेक प्रालि, काठमाडौँले विद्युतीकरण गरेको थियो । निकै पिछडिएको यस क्षेत्रमा विद्युतीकरण सम्पन्न भएकामा उपभोक्ताले खुशी व्यक्त गरेका छन् ।
