प्रहरी जवान छविलाल पोख्रेल उपर भ्रष्टाचार भ्रष्टाचार मुद्दा

आर्थिक समाचार

अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छविलाल पोख्रेलले बिभिन्न  बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवतजावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज छबिलाल पोख्रेललाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट देवदह खैरेनी, रुपन्देहीका प्रहरी जवान छविलाल पोख्रेलले सेवाग्राहीको टिप्परहरु संचालनमा सहजीकरण गरिदिएबापत मासिक रुपमा रकम दिनुपर्ने भनी रु. ३,०००।– घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज छविलाल पोख्रेललाई बिगो रु. ३,०००।– (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।