काठमाडौं २५ फागुन २०७६ । कोरोना भाइरसबाट बच्न वाग्मती सफाइ महाअभियानले जनचेतनामूलक सफाइ अभियान शुरु गरेको छ । महाअभियान ३५६औँ हप्तामा प्रवेश गर्दा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सफाइ महाअभियानले आजदेखि तीनै सुरक्षा निकायलाई सफाइमा सहभागी नहुन आह्वान गरेको थियो।
तिलगङ्गा पहेँलो पुल क्षेत्रमा १५० अभियानकर्मीको उपस्थितिमा भएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । यस क्षेत्रका घर–पसलमा गई चेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइ अभियानले आ–आफ्नो गाउँ–टोलमा सचेतना फैलाई कोरोनाबाट समाज सुरक्षित बनाउन आह्वान गरेको छ ।
कोरोनाको सङ्क्रमणका कारण सुरक्षा निकाय, विद्यार्थी लगायतलाई सहभागी नहुन आह्वान गरिए पनि बालकुमारीस्थित काठमाडौँ फरेस्ट कलेजका ५० विद्यार्थी सहभागी भएका उहाँले बताउनुभयो । कलेजका विद्यार्थीसँगै १०० जना नियमित अभियानकर्मी सफाइमा सहभागी भएका थिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३१७औँ हप्तामा गोठाटारस्थित गाईबाच्छा संरक्षणस्थलमुनिको नदी किनारमा पनि जनचेतनामूलक सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएको यस क्षेत्रको सफाइमा पनि अभियानकर्मीमात्र सहभागी भएका थिए ।
यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीको नेतृत्वमा शुरु गरिएको अभियान कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भएकाले स्थगित गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । त्यस अवसरमा गाईबाच्छा संरक्षणस्थलमा जम्मा भएको प्लाष्टिकलगायत फोहरसमेत व्यवस्थापन गरिएको थियो ।
चक्रपथको पश्चिमी भेग सफाइ अभियानको १३६औँ हप्तामा बाफल क्षेत्रमा जनचेतनामूलक सफाइ अभियान गरियो । मास्क नपाएकै कारण यस क्षेत्रको सफाइमा आउने अभियानकर्मी प्रभावित भएका अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिनुभयो । यसैगरी उपत्यकाका अन्य नदी एवं चक्रपथ सफाइ अभियानमा पनि धेरै मानिसको भीडभाड नगरी अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण रहेसम्म सफाइ अभियानलाई जनचेतना फैलाउन उपयोग गरिने भएको छ ।
