काठमाडौं चैत्र १ २०७६ । सरकारले राजधानी उपत्यकासहित सातै प्रदेशमा आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने भएको छ । कोरोना भाइरस रोकथामका लागि उपत्यकामा आवश्यक सङ्ख्या र हरेक प्रदेशमा कम्तीमा एकएक आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको हो । उक्त कामका लागि समितिको अर्काे बैठकमा प्रस्ताव पेश हुनेछ । त्यसको स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।
स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा समायोजन भएका चिकित्सक तथ स्वास्थ्यकर्मीसमेतलाई सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीमा राख्ने एवं आवश्यकतानुसार स्वास्थ्यकर्मी र स्वयंसेवकको सूची तयार गरी आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वयमा गर्नेछ ।
यस्तै नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमतिपत्र हाललाई सरकारले स्थगन गरेको छ । सरकारले अन्तरराष्ट्रिय सभासम्मेलन आगामी जेठ १८ सम्मका लागि स्थगन गरेको छ । यस्तै सङ्क्रमण आउन नदिन चलचित्रघर नचलाउन, समारोह तथा सामाजिक कार्य एवं मेला महोत्सव नगर्न र सहभागी नहुन जनसमुदायलाई आह्वानसमेत गरेको छ ।
