दक्षिण कोरियामा रहेका नेपाली स्वदेश फर्कन चाहिरहेका छन्। कोभिड–१९ त्रासका कारण उनीहरू नेपाल फर्कन खोजिरहेका हुन्। रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका नेपाली कम्पनीले घर बिदा वा कम्पनी छोड्ने अनुमति नदिएसम्म देश फर्कन पाउँदैनन्।
कम्पनीको स्वीकृतिबिना नेपाल फर्किए फेरि आउन पाइँदैन। यस्तो अवस्थामा नेपाली दूतावासले केही समाधान खोजिदिए हुन्थ्यो भन्ने चाहना नेपाली कामदारले राखे पनि दूतावासले न कुनै जवाफ दिएको छ न नै कूटनीतिक पहल गरेको छ।
दूतावासमा राजदूत नभएको डेढ वर्ष पुग्नै लाग्यो। नेपाली कांग्रेसले पठाएका राजदूत अर्जुन जंगबहादुर सिंहलाई वर्तमान सरकारले फिर्ता बोलाएपछि उनको ठाउँमा कसैलाई पठाइएको छैन। ‘हामी कर्मचारी भनेको दूतावासको कार्यसम्पादनका लागि हौं। हाम्रो पहुँच कोरियाली सरकारको माथिल्लो तहसम्म हुँदैन,’ नेपाली दूतावासका कार्यवाहक राजदूत रामसिंह थापाले भने, ‘यो जटिल समयमा राजदूत नहुँदा हामीले विभिन्न खालका समस्या भोगिरहेका छौं। हामीले चाहेर पनि राजदूतको भएको बेलामा जसरी काम गर्न सक्दैनौं । कूटनीतिक मर्यादा पनि हुन्छ ।’
