काठमाडौं ७ चैत्र २०७६ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कूल रु २१ अर्ब ३० करोड ४२ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुल्नामा ३६ प्रतिशतले कमी हो । सो अवधिमा कार्यालयले रु ३३ अर्ब ३३ करोड ४८ लाख ५१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार राजश्व सङ्कलन नहुनुका प्रमुख कारण आयात घट्नु रहेको भन्सार कार्यालयले जनाएको छ । उक्त अवधिमा लगभग २५ प्रतिशत आयात घटेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सो अवधिमा भन्सार महसुलतर्फ रु आठ अर्ब ७१ करोड ६२ लाख ७७ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु ११ अर्ब २८ करोड ३९ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ३० करोड ४० लाख ३० हजार र अन्य(आर.सी.एफ र आर.डी.एफ)तर्फ रु ५४ करोड ६२ लाख ९९ हजार राजस्व सङ्कलन भएको छ । आगामी असारसम्ममा कूल रु ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य कार्यालयको छ । वर्तमान अवस्थाको असुलीलाई नियाल्दा कुनै पनि हालतमा लक्ष्य हासिल गर्न नसकिने र यसका प्रमुख कारण आयात घट्नु रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो । उहाँले एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भन्सार असुली वृद्धि भइरहेको बताउनुभयो । पुस महिनामा रु दुई अर्ब १९ करोड २४ लाख १९ हजार राजश्व सङ्कलन भएको थियो भने फागुनमा रु तीन अर्ब चार करोड ८१ लाख ९६ हजार राजश्व सङ्कलन हुनु सकारात्मक संकेत देखिएको उहाँले बताउनुभयो । प्रमुख भण्डारीले माघको दोस्रो साता सञ्चालनमा आएको यो चौकीले गर्दा लक्ष्यको तुल्नामा माघमा ७६ दशमलव २७ प्रतिशत, फागुनमा ७६ दशमलव ८४ प्रतिशत राजश्व असुली भएको हो । यसअघि पुसमा ५६ दशमलव ६२ प्रतिशत र मङ्सिर महिनामा ६२ दशमलव २२ प्रतिशत राजश्व असुली भएको उहाँले जानकारी दिनुभयो । अहिले कोरोना भाइरसका कारण चीनबाट आउने सामानको आयात घटेकाले भन्सार राजश्व घट्नु स्वभाविक हो भन्दै उहाँले चैत महिनामा पाँच दिनमा रु ४६ करोड २४ लाख १० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख भण्डारीले बताउनुभयो । चैतमा रु तीन अर्ब ७४ करोड ७३ लाख ९२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सो अवधिमा ९६ प्रतिशत प्रगति हुने अनुमान गरिएको छ । –––
