थापाचिनी-नेपालको रैथाने धानको प्रजाति !

कृषि विचार/अन्तर्वार्ता

शम्भु निरौला / थापाचिनी-नेपालको रैथाने धानको प्रजाति ! कृषिवैज्ञानिकहरू भन्छन्,”नेपालमा बाईस जातका रैथाने(लोकल) धानहरू छन् ।”तीमध्ये थापाचिनी पनि एक हो ।
थापाचिनीलाई थापाचिनी नाम किन दिइयो । यसको नामकरण कसले गर्यो भन्न सकिन्न । कि थापाहरूलाई थाहा छ त ? छैन होला ।मैले सुनेकोचैँ के छु भने यो धानको भात अमरसिँह थापालाई सारै मनपर्थ्यो अरे ।उनी आफ्ना सिपाहीलाई के भन्थे अरे भने,”ए केटा हो ! भातै खान्छौ भने त यै धानको हो।मीठो पनि, अडिलो पनि ।चामल हेर्दा पनि दुधैका तर जस्ता ।नधुलिने।सग्ला ।सकसक ।” त्यै बेलादेखिन् यसको नाउँ थापाचिनी रह्यो कि ? अमरसिँहले मन पराएकाले । ऊ बेला छोरीहरूलाई मैतालु पठाउँदा बार पाथी थापाचिनीका चामल ,दुई पाथी छाँटा,एकपाथे हर्पेमा घिउ पठाउन सकेमा खुब इज्जेतिलो ठहरिन्थ्यो भनेर हाम्री हजुरआमाले कुरा गरेको मैले सुनेको छु ।
अमरसिँह थापालाई चापाचिनी मन पर्नु स्वभाविक थियो किनभने यसको भात अडिलो हुन्छ । लौ त भन्ने हो भने, बिहान गतिला तीन भक्काना लडाउने हो भने दिउँसो खाजै खानु पर्दैन । अंग्रेजसँग युद्ध चर्केका बेलामा अडिलो खानाको आवश्यकता थियो ।दरबारले राम्रो रसदपानीको व्यवस्था गर्न सकेको थिएन । आन्तरिक सत्ता संघर्ष र घात प्रतिघातमै दरबार रुमलिएको थियो ।बहादुर शाह, रणबहादुर शाह ,शेरबहादुर र राजेन्द्रलक्ष्मीहरू बिचको द्वन्द्वले युद्धमोर्चामा ठुलो असर पारेको थियो । समयमै सामलतुमल आउँदैनथ्यो ।सिपाहीलाई खाजा दिन सकिँदैनतथ्यो । दरो चामलको भात बिहान ख्वाउँदा बेलुकासम्मन पुग्ने गर्थ्यो ।त्यै कारणले होला अमरसिँह थापालाई यो मन परेको
थापाचिनीलाई एक वर्षमा दुई बाली रोप्न सकिन्छ ।चइतमा रोप्ने, साउन लाग्दै भित्र्याउँने । साउनमा रोप्ने, मङ्सिर लाग्दा नलाग्दै भित्र्याउने । छिटो पाक्ने । थापाचिनीलाई गरिबको धान पनि भनिन्छ।किनकि यसले `औँसी मान्न´ ठुलो सहयोग गर्छ !बार माना `मल्खुमा तिन माना चामल कुट्दा `च्वाइँ´ खास्साका ! ऐले भने अौँसीमा मल्खुको चलन हटेको छ ।
हामीले हाम्रा रैथाने किसिमका खाद्यबालीहरूको मौलिक आनुवांशिकतालाई सुरक्षित राख्नुपर्छ ।विश्वभरि नै कृषिक्षेत्रमा आएको परिवर्तनले धेरै फल्ने वर्णशंकर(हाइब्रिड)अन्नबाली किसानहरूको रोजाइमा पर्न थालेका छन् । लोपोन्मुख अवस्थाका यस्ता खाद्यबाली जोगाउनु आवश्यक छ ।रैथाने जातका अन्नबालीको स्वाद मीठो हुन्छ ।पोषिलो हुन्छ ।शरीरलाई स्वस्थ राख्ने सबैका प्रकारका पोषकतत्त्वहरू पाइन्छन्। थापाचिनी पनि पूर्ण पौष्टिकताले भरिएको धान हो ।समुद्री सतह 1300 मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ । दुधकोसीको तल्लो तटीयक्षेत्र जहाँ सिँचाइको व्यवस्था छ,त्यहाँ यसको खेती गर्न सकिन्छ ।