नेपाल चेम्बर अफ कमर्सले कोरोना (कोभिड–१९)बाट अर्थतन्त्रमा परेको असरका बारेमा आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ज्ञापनपत्र बुझाई समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ । राज्यको राजश्वको मुख्य स्रोत निजी क्षेत्र भएकाले यसको सम्बद्र्धनले मुलुकको समग्र विकासको लागि योगदान दिने हुँदा यस क्षेत्रलाई संरक्षण गर्न उदारतापूर्वक आफ्ना माग सम्बोधन गरिदिन समेत चेम्बरले आग्रह गरेको छ । चेम्बरले अर्थतन्त्रमा कोरोना भाइरसको असरबारे अध्ययनका लागि निजी क्षेत्रसमेतको सहभागितामा उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्नुपर्ने, अर्थतन्त्रमा भएको क्षति आँकलनपछि यसलाई पुरानै लयमा फर्काउनका लागि अधिकार सम्पन्न संयन्त्र निर्माण गुर्नपर्ने, सबै प्रकारका व्यवसायीले अहिलेको परिस्थितिमा व्यापार व्यवसाय व्यवस्थापन गर्न अत्यन्त चुनौतीपूर्ण हुने भएकाले बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई लामो समयका लागि सोही बैंकबाट कर्जा दिने व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सुविधा कोरोनाबाट प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका लघु, साना, मझौला तथा ठूला उद्योगलगायत अन्य व्यवसायलाई समेत पाउनु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तो सुविधा सरकारी प्रक्रिया पूरा गरेको आधारमा दिइनुपर्ने र चालु ऋणको १० प्रतिशत थप गर्ने व्यवस्था गरिनुपर्ने बताएको छ । व्यावसायिक कार्य सञ्चालन गर्न व्यवसायीलाई नगद मौज्दातको आवश्यक पर्ने भएकाले हाललाई ऋणीको खाताबाट बैंकले स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गर्नुपर्ने, वैंकको स्प्रेड दर तीन प्रतिशत कायम हुनुपर्ने, कर्जा निक्षेप अनुपात खुकुलो बनाई लगानीयोग्य पूँजी प्रवाह बढाउनुपर्नेमा जोड दिइएको छ ।
