म्याद गुज्रेका खाद्यवस्तु भेटिए

आर्थिक राजनीति

काठमाडौं, ८ वैशाख २०७७। लकडाउनको समयमा कालोबजारी मौलाएको र मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि बजार अनुगमन थालेको ताराखोला गाउँपालिकाले बजारमा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य तथा पेयपदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख युवराज सलामी मगरले जानकारी दिनुभयो ।

एक बोरा चामल, चाउचाउ, चिजबल, फ्रुटी, बिस्कुटलगायतका खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो । “बजारमा धेरै सामान म्याद गुज्रिएका भेटिए, हामीले नियन्त्रणमा लिएका छौँ”, मगरले भन्नुभयो, “एउटा गुनासो सुनेर बजार पुगेको अवस्था अर्कै रहेछ ।” गुनासो आएकोजस्तो मूल्यवृद्धि नभएको भए पनि बजारमा म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री वितरण भइरहेको पाएको उहाँले बताउनुभयो । “यहाँका साना व्यापारीले फागुनमा ल्याएको भन्ने चाउचाउको म्याद माघमा नै सकिएको छ”, थापा भन्नुहुन्छ, “ठूला व्यापारीले म्याद गुज्रिएका समान बेच्न ल्याउने गरेको आशङ्का छ, हामीले सम्झाएर छाडेका छौँ ।”

बरामद भएका सबै सामग्री सरोकारवालाको रोहबरमा नष्ट गरिने थापाले बताउनुभयो । शुक्रबारदेखि शुरु भएको अनुगमनका क्रममा अधिकांश ठाउँमा म्याद गुज्रिएका सामग्री भेटिएपछि गाउँपालिकाका स–साना पसलमा समेत अनुगमन गर्ने योजना गाउँपालिकाले बनाएको छ । अनुगमन टोलीले किराना, फेन्सी, तरकारी तथा फलफूललगायत सबैखाले पसलको अनुगमन गरेको थियो ।