सभापति देउवाद्वारा अधिकारीको निधनप्रति दुःख व्यक्त

मुख्य समाचार राजनीति

काठमाडौं,२०वैशाख २०७७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित अधिकारीको बिहीबार बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व अधिकारीले निरङ्कुशताविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर देखाउनुभएको साहस सबैका लागि प्रेरणादायी रहेको बताउनुभएको छ । सभापति देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं २००७ अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा स्व अधिकारीले गीत गाउनुभएको थियो । उहाँ रेडियो नेपालकी प्रथम गायिका समेत हुनुहुन्थ्यो । स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी काँग्रेसले काठमाडौँ महानगरपालिका– ३१ का पूर्ववडाध्यक्ष गणेशबहादुर खड्गीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व खड्गी प्रतिबन्धितकालदेखि काँग्रेसमा अनवरत लागेर २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडा नं ३१ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । खड्गीको बिहीबार काठमाडौँमा निधन भएको हो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ ।