निःशुल्क भोजनको व्यवस्था

समाचार

काठमाडौं,२१ वैशाख २०७७। कोभिड –१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ । समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गर्नुभएको हो ।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो । वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ ।

सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ ।