राजकुलो मर्मत तथा सञ्चालनका लागि ४९ लाख सहयोग

राजनीति

काठमाडौं,२१ वैशाख २०७७। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा गोदावरी नगरपालिकामा रहेको राजकुलोलाई रु ४९ लाख सहयोग गरिएको छ ।

वडा नं ११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनका लागि मन्त्रालयले नगरपालिकालाई उक्त रकम सहयोग गरेको हो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले लामो समयदेखि बन्द रहेको राजकुलो सञ्चालनका लागि प्रदेश सरकारले उक्त सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो वर्ष राजकुलो निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेछाँै, डिपिआर तयार गरिसकेपछि कुलो निर्माणमा कति खर्च लाग्छ त्यसैका आधारमा प्रदेशले बजेट छुट्याउनेछ ।” सो राजकुलो निर्माणलाई प्रदेशको गौरवको योजनामा अघि बढाइने सञ्जेलले जानकारी दिनुभयो ।

नगरप्रमुख गजेन्द्र महर्जनले विसं २०४६ देखि राम्रोसँग सञ्चालन नभएको उक्त राजकुलो पुनःनिर्माण गरी सञ्चालन गराउने योजनामा अघि बढ्ने बताउनुभयो । वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले गोदावरीमा रहेका ढुङ्गेधारा, पोखरी पुनःजीवित गराउन उक्त कुलोको पानीले निकै सहयोग गर्ने भनाइ राख्नुभयो ।

वडा नं १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले यस वर्ष राजकुलोबाट पानी नल्याए अर्र्काे वर्ष कुलो बनाउन नसकिने बताउनुभयो । वडा नं १३ का वडाध्यक्ष भाष्कर थापाले यो राजकुलो गोदावरीको इतिहास रहेकाले यसलाई कायम गर्न राम्रोसँग निर्माण गरिने विचार व्यक्त गर्नुभयो ।

उक्त राजकुलो सञ्चालनमा आउँदा नगरपालिकाको करिब ६० हजार रोपनी जमिन सिँचाइ हुनेछ । राजकुलो निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । स्थानीय श्यामबहादुर महर्जनको अध्यक्षतामा आज १३ जनाको समिति गठन गरिएको हो ।