प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोखरेल

मुख्य समाचार राजनीति

काठमाडौं,२२ वैशाख २०७७। मुख्यमन्त्री शंकर पोखरेलले वि श्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध बताउनुभएको छ ।
यस अवसरमा आज शुभकामना दिने क्रममा उहाँले विगतमा भएका लोकतान्त्रिक आन्दोलन सफल पार्न नेपाली प्रेसले खेलेको सक्रिय भूमिकाप्रति सम्मान व्यक्त गर्दै पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार संस्थाको सबलीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । ।
कोरोनाविरुद्धको लडाइँमा पनि नेपाली प्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभएको छ, “सत्य, तथ्य र सचेतनामूलक सूचना प्रवाहले कोरोनाविरुद्धको लडाइँलाई सार्थक बनाउन अग्रमोर्चामा खटिएका सबैलाई हौसला मिलेको छ ।”
सत्य र तथ्यमा टेकेर जिम्मेवारीबोधका साथ पत्रकारिता गर्न आग्रह गर्दै उहाँले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन र स्थिरता दिन जिम्मेवारीबोधका साथ गरिने पत्रकारिताबाट मात्रै सम्भव हुने स्पष्ट गर्नुभएको छ । “लोकतन्त्रमा कुनै खालको त्रास र भय हुँदैन । लोकतान्त्रिक प्रणालीमा चुनिएको सरकार सधैं स्वतन्त्र प्रेसका निम्ति अभिभावकीय भूमिकामा रहन्छ ”, सन्देशमा भनिएको छ।