काठमाडौं,२५ वैशाख२०७७। दिक्तेल कोरोना भाइरसको सङ्क्रमण हुन नदिन जारी ‘लकडाउन’को अवधिमा सामाजिक दूरी कायम गर्दै यहाँको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम शुरु गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा अगामी असार मसान्तमा सम्पन्न गर्ने गरी दिक्तेल बजारस्थित रत्नपार्कको किराँत चोकदेखि हाटडाँडासम्मको सडक ढलान गर्न शुरु गरिएको हो ।
क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेल बजारको सडक ढलानमा सो विभागले यो वर्ष रु पाँच करोड खर्च गर्ने सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । “दिक्तेलबजारको सडक ढलानमा करिब रु १५ करोड रकम खर्च हुने डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा उल्लेख छ”, उहाँले भन्नुभयो, “क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र टेण्डर (आशयपत्र) आह्वान गरेर ठेकेदार कम्पनीमार्फत ढलानको काम शुरु गरिएको हो ।”
साँघुरो तथा कच्ची अवस्थामा सञ्चालन हुँदै आएकोे सडक ढलान गर्न अर्थ मन्त्रालयले गत पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि शहरी विकास मन्त्रालयले मातहतका सो विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन दिए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।
पुरानो संरचनाका घर रहेको सो बजारको ढलान गर्ने जिम्मा दिव्यज्योति–आइडी–रुजन जेभीले लिएको छ । किराँत चोकबाट ढलानको काम शुरु गरिएको सडकमा अहिले फराकिलो पार्ने, दायाँ बायाँ पर्खाल हाल्ने, घरको बार्दली तथा बिजुलीको पोल हटाउने, निर्माण सामग्री भित्र्याउनेलगायत काम तीव्र गतिमा भइरहेका छन् ।
दायाँ बाँयाँ छोडेर सडकको मध्यभागमा करिब सात मिटर ढलान गरिने निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि एवं निर्माण व्यवसायी सुनिल राईले जानकारी दिनुभयो । “सडकमा फलामे रड, गिट्टी, बालुवा र सिमेन्ट प्रयोग गरेर साढे १७ सेन्टिमिटर कङ्क्रिट ढलान गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष ढलान गरिने करिब ७०० मिटर सडकका लागि आवश्यक सामग्री ल्याइएकाले तोकिएकै मितिमा सम्पन्न गरेर सम्बन्धित निकायलाई बुझाउने योजनाका साथ कामलाई तीव्रता दिएका छौँ ।”
लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको बजारको सडक यसअघि पनि पटक पटक ढलानको प्रयास गरिएको थियो । बजारकै केही स्थानीय बासिन्दाको अवरोधका कारण विभिन्न निकायबाट सडक ढलानका लागि पटक पटक विनियोजन भएर आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।
बजारमा देखिने सबै समस्यालाई नगरपालिकाको तर्फबाट समाधान गरेर ढलानको कामलाई सफल पारिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “सडक ढलानमा बजार क्षेत्रका दुईवटा घरले असर गर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “ती घरलाई उचित व्यवस्थापन गरेर ढलानको काम गरिनेछ ।” सो बजारको मुख्य सडकसँगै आसपासको शाखा सडकसमेत यसै वर्ष ढलानको काम शुरु गरिएको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड लगानीमा त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म तथा पुरानो बैंकचोकदेखि झिसेपू मन्दिर जाने सडक शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र सङ्घीय कार्यान्वयन इकाइ कार्यालय विराटनगरको रु दुई करोड लगानीमा दिक्तेल–दुम्ली सडक ढलान हुँदैछ ।
मुख्य सडकबाहेक तीनवटै सडक ढलानको काम शुरु भइसकेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो । “तीनवटै सडक ढलान गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम थालिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका बाँकी सडकसमेत बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी कामलाई अगाडि बढाइएको छ ।” मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भए पनि ढलान हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुईपटक बुधबार र शनिबार हटिया लाग्ने दिक्तेल बजारको सडकमा अहिले हिउँदको समयमा धुलो र वर्षाद्को समयमा हिलोका कारण समस्या हुने गरेको छ ।
