लकडाउन खुल्ने आसमा बारीमा कुहिन थाल्यो तरकारी

कृषि

काठमाडौं, २६ वैशाख२०७७। धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् ।

“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उहाँले भन्नुभयो, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ ।” उहाँले होटेल तथा फुटपातमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताउनुभयो ।

बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उहाँको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन । उहाँले लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गथ्र्या तर हिजोआज अत्यन्त न्यून बिक्री भएका कारण ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताउनुभयो ।

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उहाँको गुनासो छ । “गत चैत ११ गतेदेखिको बन्दले अब त जमिनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जमिनको भाडा कहाँबाट दिने र परिवार जहान कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उहाँले लकडाउन खुल्ने आसैआसमा एक दुई हप्ता गर्दा गर्दा झण्डै दुई महिना पुग्न थालिसक्यो, कहिले खुल्ने हो अब त खुल्ला र तरकारी बिक्री गरौँला भन्ने आस मर्न थालिसकेको बताउनुभयो । लकडाउन खुलुन्जेलसम्म त बारीको तरकारी कुहेर कामै नलाग्ग्ने भइसक्ने उहाँको भनाइ छ । आफूले तरकारी बिक्री गर्ने गरेको कृषि उपज हाटबजार, होटेललगायत मानिसको भीडभाड हुने क्षेत्र त झनै अहिले खुल्न सक्ने कुनै सम्भावना नभएको उहाँले विचार व्यक्त गर्नुभयो ।

पाँच वर्षदेखि जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदामात्र हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत सिजनमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गथ्र्याे तर अहिलेको समस्याले व्यवसाय पूरै घाटामा छ, लगानी उठ्न पनि मुस्किल छ ।” बन्दाबन्दीले व्यवसायमा त अप्ठ्यारो नै पर्न थाल्यो हुँदाहुँदै परिवारको लालनपालनका लागि खर्च जुटाउनसमेत समस्या हुन थालेको उहाँको भनाइ छ ।