काठमाडौं, २९ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्दै आएको ललित मेमोरियल यु–१८ (अठार वर्षमुनि) फुटबल प्रतियोगितालाई अझै व्यवस्थित गर्दै सञ्चालन गर्ने जनाएको छ । श्रेष्ठको पाँचौँ स्मृति दिवसका अवसरमा एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कोभिड–१९ को अवस्था सहज भएपछि प्रतियोगितालाई थप व्यवस्थित बनाएर राष्ट्रियस्तरको प्रतियोगिताका रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले नेपाली फुटबलमा श्रेष्ठको अतुलनीय योगदान रहेको र एन्फा परिसरमा निर्माण गरिएको उहाँ प्रतिमा छैटौँ पुण्यतिथिमा सार्वजनिक गरिने उल्लेख गर्नुभयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा रहेको श्रेष्ठको प्रतिमामा फूलमाला माल्यार्पण गरिनाका साथै एक मिनेट मौनधारण गरिएको थियो । सो अवसरमा थ्री स्टार क्लबका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । एन्फाका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको विसं २०७२ जेठमा आफ्नै घरमा करेन्ट लागेर निधन भएको थियो ।
