नोइन्द्र खतिवडा
आज संसार कोरोना महामारीसँग लडिरहेको छ । अझ भन्नुपर्दा संसार कोरोना भाईरसँंग लढ्न बन्दाबन्दी गरेर आफ्नै घरमा बन्दी जीवन बिताउदैछ। विश्वका धेरै देशहरु रोगसँग लढ्न गरिएको बन्दाबन्दी आज भोकसँग लढ्दा लड्खडाउदो अबस्थाबाट गुज्रिदै छन् । आर्थिक अवस्था तहसनहस हुदैँगर्दा संसारकै शक्तीशाली राष्ट्र अमेरिकाका जनता बन्दाबन्दी हटाउन माग गर्दै सडकमा आन्दोलन गर्न आए जबकि अमेरीका नै संसारको सबै भन्दा धेरै कोरोना भाइरस संक्रमित र धेरै मृत्यु हुने देश हो। हाल अमेरिका सहित धेरै राष्ट्रहरु प्रविधिको प्रयोग गर्दै आफ्नै बासस्थान बाट गर्न मिल्ने कामहरु “वर्क फ्रम होम” भन्दै घरबाट काम गरीरहेका छन् भने कार्य क्षेत्र नगइ नहुने कार्यका लागि भने सामाजिक दूरी कायम राख्दै कामहरु सुचारु गरिएको छ । साथै विश्वका धेरै राष्ट्रहरुले यो मोडल अपनाउन सुरु गरिसकेका छन् ।
नेपालमा पनि १० हजार भन्दा अधिकमा संक्रमण र २४ जानाको मृत्यु भैसकेको छ र नेपालमा भदौ महिना सम्म ५० हजार भन्दा धेरै संक्रमित हुने अनुमान गरीएको छ । नेपाल यस्तो विषम परिस्थितीबाट गुज्रिदै गर्दा नेपालको समग्र आर्थिक अवस्थामा कस्तो असर गर्ला भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो तर नेपालले आइपर्ने समस्या र त्यसबाट बच्ने उपायाहरुको बारेमा समयमै सोच्न जरुरी हुन्छ । अन्यथा “लगनको बेला पोते किन्न गए जस्तो हुनेछ”। नेपालमा आइपर्ने समस्याहरुको समाधान गर्ने सुत्र पत्तालगाउनु पूर्व नेपालको अर्थतन्त्रका बारेमा जान्नु वाञ्छनीय हुनेछ । हुनत हामी नेपाललाई एक कृषिप्रधान मुलुक भनेर चिन्ने र चिनाउने काम गरिरहेका छौं तर नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिसत मात्र भुमिका रहेको छ । र यो अधिल्लो आर्थिक बर्षको तुलनामा २%ले कमी हो। सन् २०१३ देखी यो निरन्तर ओरालो लाग्ने क्रममा छ। अर्कोतिर नेपालको आर्थिक मेरुदण्ड मानिएको विप्रेषणले गार्हस्थ उत्पादनमा २८ प्रतिसत हिस्सा योगदान दिदै आइरहेको छ । यसमा पर्यटनक्षेत्रको योगदान ७ देखी ८ प्रतिसत रहेको देखिन्छ। जुन नेपालको विकासमा महत्वपुर्ण योगदान दिन सक्ने क्षेत्रको रुपमा हेरिएको मात्र हैन यस क्षेत्रमा मनग्य लगानी पनि भएकोछ । नेपाल सरकारले सन् २०१९ मा आन्तरिक तथा बाह्य पर्यटकबाट २४० विलियन नेपाली रुपैंयाँ राजस्व संकलन गरेका देखिन्छ भने यस क्षेत्रमा दसौँ लाख नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेका थिए । कोरोना महामारीका कारणले गर्दा परम्परागत रुपमा संचालित कृषि क्षेत्रमा भन्दा नेपालको प्रर्यटन क्षेत्र र विप्रेषणमा ठुलो धक्का पुग्ने लगभग पक्कापक्की जस्तै भइसकेको छ । भूकम्पको असरबाट तङ्रिदै गरेको नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन नेपाल सरकारले “भ्रमण बर्ष २०२०” उद्धोष गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने योजनालाई त यसले असर गर्यो नै त्यस बाहेक पनि नेपालको पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन पनि अब एक–दुई बर्ष लाग्ने पक्का देखिन्छ । जसले गर्दा लाखौँले रोजगार गुमाउने सम्भावना छ भने अर्कोतिर नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिएको विप्रेषण आप्रवाहमा पनि ठुलो गिरावट हुन सक्ने सम्भावना छ। नेपाल संसारमा धेरै रेमिट्यान्स भित्राउने मुलुकहरु मध्ये १९औं स्थानमा पर्दछ भने दक्षिण एसियामा चौथो स्थान ओगटेको छ । साथै रेमिट्यान्समा आस्रित अर्थव्यवस्थाको सन्धर्वबाट कुरा गर्ने हो भने नेपाल संसारको ७ औं र दक्षिण एसियाली मुलुकहरुमा पहिलो स्थान ओगटेकोे छ । सन् २०१८ को आँकडा अनुसार नेपालमा सबै भन्दा धेरै रेमिट्यान्स मलेसियाबाट आउँछ भने दोस्रोमा अमेरीका, तेस्रोमा कतार ,चौथोमा जापान र पाँचौमा भारत तथा खाडी राष्ट्रहरु नेपालको रेमिट्यान्सका ठुला क्षेत्रहरु हुन् । नेपालले रेमिट्यान्स भित्राउने राष्ट्रहरु पनि कोरोनाका कारण बन्दाबन्दीको सामना गर्न बाध्य छन् । यो लेख तयार पार्दासम्म मलेसियामा १० हजारको हाराहारीमा संक्रमण देखा परिसकेकोछ भने २०० को हाराहारीमा ज्यान गुमाउनेको सङख्या पुगिसकेकोछ । त्यस्तै जापान, द. कोरिया लगायत देशहरुमा देखिएका केही सुधारोन्मुख अवस्था बाहेक नेपालले विप्रेषण भित्राउने अरु देशहरुमा संक्रमितको सङख्या १०औं हजार रहेको छ । हाम्रो छिमेकी मुलुक भारत जँहा २५ लाख भन्दा बढी नेपाली कामदार काम गर्न गएको अनुमान गरिएको छ । त्यहाँ एसियाकै सबै भन्दा धेरै र संसारकै चौथो धेरै संक्रमितहरु पुगिसकेका छन् । युरोप अमेरीकामा रहेमा नेपाली हरु नफर्केलान् तर बन्दाबन्दीकै बिचमा पनि झण्डैं २ लाख भन्दा बढीको संख्यामा भारतबाट त्यहाँ काम गर्न गएका मदजूरहरु नेपाल भित्रेको अनुमान गरीएको छ । खाडी तथा तेस्रो मुलुकबाट पनि नेपाल भित्रिने नागरिकहरूको सङख्या करीब २ लाख नाघ्ने अनुमान गरिएको छ । जसले नेपालको रेमिट्यान्स आयातमा नराम्रो धक्का पुग्ने करिब करिब पक्का छ ।
“नेपाल यस्तो विषम परिस्थितीबाट गुज्रिदै गर्दा नेपालको समग्र आर्थिक अवस्थामा कस्तो असर गर्ला भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो तर नेपालले आइपर्ने समस्या र त्यसबाट बच्ने उपायाहरुको बारेमा समयमै सोच्न जरुरी हुन्छ । अन्यथा “लगनको बेला पोते किन्न गए जस्तो हुनेछ”
कोरोना महामारीले नेपालको अर्थ ब्यवस्थालाइ असर गर्छ कि गर्दैन भन्ने प्रश्नको कुनै गुञ्जाएस छैन । यो सन् १९३० को Great depression वा सन् २००८को financial crisis मा जस्तो नेपालको अर्थतन्त्र विश्वको अर्थव्यवस्थासँग पुर्ण रुपमा नजोडिएकोले गर्दा छिटपुट बाहेक ठूलो प्रभाव पार्न सकेको थिएन । जसको फलस्वरुप नेपालको आर्थिक विकास ६ प्रतिसत भन्दा माथि रहेको थियो । तर यो विषम परिस्थितिमा कोरोनाको कहरबाट कुनै पनि देश अछुतो रहन सक्दैन । अब कोरोनाको त्रास यही रुपमा नगई औषधी पत्तालाग्यो भने त संसारले राहतको सास फेर्न पाउला तर यो संक्रमण अझै लम्बिएको खण्डमा धेरैले रोजगार गुमाउने प्रस्ट छ ।नेपालले धेरै कुरा सुधार्ने अवसर पनि उपहारमा पाउने नै छ । नेपालको सन २०१६ को तथ्याड्ढ हेर्ने हो भने नेपालमा ६० लाख जनसङख्या अव्यवस्थित र अनियमित कार्य गर्छन जसले यो बन्दाबन्दीमा आफ्नु रोजिरोटीको माध्यम गुमाइ सकेका छन् । अर्काे तिर उच्च घरानिया तथा आफ्नो उत्पादान प्रसस्त भएका बाहेक मध्यम आय भएका र मजदुर दैनिक ज्याला गरेर खाने समुहलाई घर चलाउन मुस्किल रहेको अवस्था छ ।
हुन त सरकारले तत्काल लाखौंको संख्यामा तत्काल रोजगार ऋजना गर्न नसकेता पनि केही जोखिम न्युनीकरण गर्दै केही रोजगार निर्माण तथा देशलाई थप स्वाभलम्बी बनाउन भने पक्का सक्तछ । सन् २०१९ को तथ्याड्ढ अनुसार नेपालले बार्षिक २ विलियन अमेरीकी डलर बारबरको कृषि सामाग्री आयात गरेको देखिन्छ । अब नेपालले जीवन धान्ने कृषि प्रणलीबाट व्यवसायिक कृषिबाट नेपालको आयातमा पुर्ण विस्थापन गर्न नसकेपनि ७० प्रतिशत विस्थापन गर्न सक्ने हो भने नेपालको व्यापार घाटाका साथै ठूलो संख्यामा बेरोजगारी समस्या समाधान गर्न सक्छ । आर्थिक बर्ष २०७७/७८ को बजेटमा अघिल्लो बजेटको तुलनामा ६अर्ब ६० करोडको वृद्धि सहित कुल ४१ अर्ब ४० करोडको बजेट प्रस्तुत भएकोछ । हुनत नेपालको बजेट प्राय प्रशासनिक खर्च धान्नमा नै बढी केन्द्रित हुने गरेको छ । यदि प्रशासनिक खर्च हटाएर त्यो मात्रामा रकम विनियोजित हुने हो भने कृषकले धेरै कुरामा राहत पाउने थिए । नेपालको कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै लैजानका लागि किसानलाई उच्च जातका बीउबिजन,सहज तथा समयमै मलखादको उपलब्धता, आधुनिक शीत भण्डारको निर्माण, कृषिबिमा , उन्नत जातका पशुहरुको सहज उपलब्धता तथा तलिमको व्यवस्था, विदेशमा कृषिक्षेत्रमा काम गरेर आएका जनशक्तीलाई सरल कर्जाको व्यवस्था दिन सके यसले आशातित परिणाम दिने कुरालाई नकार्न सकिदैँन। आधुनिक कृषिका लागि चाहिने टनेल तथा जाली निर्माणको तालिम एबं एक स्थानिय निकाय ,१ उत्पादन तथा स्थानीय उत्पादनलाई बढावा दिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पहेलो क्याप र ज्याकेट लगाई गाई धपाउने वा मकै गोडनका लागि मात्र नभई स्थानीय सम्पदा निर्माणमा आधारित भै मानवस्रोत र साधनको मात्र प्रयोग गरी स्थानीय सम्पदाको संरक्षण हुने तथा बेरोजगारहरुले केही दिनको लागि भए पनि रोजगार पाउने अबस्था सिर्जित हुनेछन् र नेपालका ठुला आयोजनामा नेपालमा नभएको प्राविधिक जनशक्ति बाहेक सम्पुर्ण जनशक्ति नेपाली मात्र प्रयोग गर्ने जसले केहि मात्रामा भए पनि नेपालको बेरोजगारी समस्यालाई केही मात्रामा भएपनि समाधान गर्न सक्षम हुने छ ।