नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको अध्यक्षमा देवकोटा

प्रवास मुख्य समाचार वैदेशिक रोजगार

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघलगायत वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील संघ/संस्थाहरुले वैदेशिक रोजगार व्यवसायलाई स्वस्थ्य प्रतिस्पर्धी, मर्यादित र व्यवस्थित गर्न नसकेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील वैदेशिक रोजगार महिला व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ गठन गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुको हक र अधिकारलाई स्थापित गर्न यस क्षेत्रका महिला व्यवसायीहरुले छुट्टै संस्था निर्माण गर्नु परेको उनीहरुले बताएका छन् । गत शनिबार लाजिम्पाटमा महिला व्यवसायीहरुको भेला गरी सीतादेवी देवकोटाको अध्यक्षतामा नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन गरेका हुन् ।
हाल एघार सदस्यीय तदर्थ कार्यसमिति रहेको महिला व्यवसायीहरुको संघलाई संघसंस्था ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी विधिवत रुपमा सञ्चालन गर्ने उनीहरुको निर्णय छ । गल्फ लिंक ओभरसीज प्रा.लि.की सञ्चालक देवकोटा अध्यक्ष रहेको संघमा एसआरएस म्यानपावर प्रा.लि.की सञ्चालक सुभद्रा देवी बराल र अरोमा इटरनेशनल प्रा.लि.की सञ्चालक प्रतिमा महर्जन उपाध्यक्ष रहेका छन् ।
त्यसैगरी मदिना इन्टरनेशनल प्रा.लि.की सञ्चालक सुवर्ण श्रेष्ठ महासचिव, लुम्बिनी दर्शन प्रा.लि.की सञ्चालक माधुरी मुडवरी पौडेल सचिव र सुपर्व फर अल्टिमेट प्रा.लि.की सञ्चालक चन्द कमल श्रेष्ठ कोषाध्यक्ष रहेका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा एस एलडी म्यानपावर प्रा.लि.की सञ्चालक सरस्वती गुरुङ, अलकर्निस म्यानपावर प्रा.लि.की सञ्चालक हिरादेवी बुढाथोकी, अक्टुपस रिक्रमेन्ट प्रा.लि.की सञ्चालक सुनिता कर्माचार्य, तत्कालीन नारायणी ओभरसीज प्रा.लि.की सञ्चालक हेमा गुरुड र प्यासिफिक प्रा.लि.की सञ्चालक गंगा कमारी पुन रहेकी छन् ।
नेपालमा ‘महिला व्यवसायी’ भएर व्यवसाय सञ्चालन गर्न अत्यन्तै चुनौती रहेको तर वैदेशिक रोजगारका क्षेत्रमा स्थापित संघसंस्थाहरुले सरकारी निकायमा छलफल गर्दा महिला व्यवसायीहरुका समस्या नउठाइदिने गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भनिन्, ‘हामी कुनै पनि संस्थाको नाम लिन चाहन्नौं, तर हाम्रो आवाज कसैले उठाइदिएनन् । त्यसैले नयाँ संस्था बनाउनुपर्ने अवस्थामा पुग्यौं ।’
आफ्नो नेतृत्वको संस्थाले सबै व्यवसायीहरुका साथै महिला व्यवसायीहरुको आवाज राज्यका निकायहरुसँग पु¥याउने उनले दाबी गरिन् ।
त्यसैगरी प्रस्तावित संस्थाको विधान मस्यौदा गर्नको लागि सिता देवकोटाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिको संयोजकमा सिता देवकोटा, सदस्यहरुमा सुवर्ण श्रेष्ठ, चन्द्रकमल श्रेष्ठ, इन्दिरा गुरुङ, पुष्पा केसी, पार्वती खड्का, सरिता घले, सविना श्रेष्ठ, निलम केसी रहेका छन् । सदस्य सचिवको जिम्मेवारी अधिवक्ता दमनबहादुर चन्दलाई दिइएको छ ।

युगव्यथा साप्ताहिकबाट