नेकपा विवाद समाधानका लागि गठित कार्यदल कार्यदल पार्टी सचिवालयबाट अनुमोदित

मुख्य समाचार राजनीति

काठमाडौं १ भदौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले विवाद समाधान गर्ने उपाय सिफारिस गर्नका लागि गत साता गठित कार्यदललाई अनुमोदन गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच भएको छलफलपछि दल भित्र विद्यमान आन्तरिक विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ-सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलका सदस्यमा ओली, प्रचण्ड र अर्का नेता माधवकुमार नेपालसँग निकट मानिएका नेताहरू छन्। कार्यदलको वैधानिकताबारे प्रश्न उठेपछि सचिवालय बैठकले उक्त विषयलाई सम्बोधन गरेको हो। पौडेल र पोखरेललाई प्रधानमन्त्री ओलीनिकट, शर्मा र भुषाललाई प्रचण्डनिकट र रावल र पाण्डे नेपालनिकटस्थ मानिन्छ।
“पार्टीको समस्या समाधान गर्नका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदलका सन्दर्भमा यो पहलकदमीलाई सकारात्मक रूपमा ग्रहण गर्दै कार्यदललाई अनुमोदन गरियो,” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीसँग भने। कार्यदलको समय सीमा पनि तोकिने बताइएको भए पनि सोमवारको बैठकले यथाशीघ्र प्रतिवेदन बुझाउन भनेको श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र पार्टीको प्रचारविभागका उपप्रमुख सूर्य थापाले सचिवालय अध्यक्षद्वयद्वारा गठित कार्यदलबारे बैठकमा जानकारी गराइएको र त्यसलाई बैठकले अनुमोदन गरेको जानकारी ट्विटरमार्फत् दिएका छन्।

तर कार्यादेशका विषयमा ठोस केही नभनिए पनि “यो समस्या समाधान गर्ने नै विषय” भएको श्रेष्ठले बताए। कार्यदलको प्रतिवेदन अध्यक्षद्वय बुझेपछि सुरुमा सचिवालयमा पेस हुने र त्यसपछि स्थायी कमिटीमा लाने बताइएको छ। “आवश्यकता परेको खण्डमा केन्द्रीय कमिटीमा पनि लानुपर्ने हुनसक्छ। तर कोभिड १९ को महामारीकाबीच त्यस्तो गर्न भने अनुकूल नहुन सक्छ,” उनले भने। विभिन्न विषयमा विवाद चुलिएको नेकपाको सचिवालय बैठक गत साउन ४ गतेदेखि हुन सकेको थिएन। नेकपामा प्रचण्ड, नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले पार्टी र सरकारमा ओलीले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। केही महिनादेखि दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। ओलीको प्रभाव कमजोर हुँदै गएको तथा उनका केही सार्वजनिक अभिव्यक्तिबारे आपत्ति जनाउँदै सचिवालयका केही तथा स्थायी समिति सदस्यहरूले उनले दुवै वा एक पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टी विभाजनसम्मको अवस्थामा पुगेको अनुमान गरिएको थियो। दुई अध्यक्षबीच लामो समयसम्म संवाद हुन नसकेको अवस्थामा अहिले विकसित घटनाक्रमलाई पार्टी एकताका लागि सकारात्मक मानिनुपर्ने नेताहरू बताउँछन्।