माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

मुख्य समाचार राजनीति

काठमाडौं, १ भादौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।
गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ । सोही विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविक बमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि रोग संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ साल चैत्र ५ गतेको निर्णयानुसार स्थागित रहेको थियो।

सरकारको निर्णयपछि राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो ।
विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख थियो ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
।यसरी थाहा पाउनुस् नतिजाः

टेलिफोनः

नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

एसएमएसः

नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

वेभसाइटः

माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक (जिपिए) हेर्न सकिन्छ ।