नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११५ पुग्यो

समाचार

काठमाडौं,३साउन। नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा-२ की ६७ वर्षीय महिलाको मृत्यु भएको हो।

उनको मंगलबार साँझ ४:४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ। विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो। उनमा मुटुको दीर्घ समस्या पनि थियो। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ११५ पुगेको छ।

कोरोना संक्रमितको संख्या २८ हजार नाघ्दा कुन जिल्लामा कति?

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १
झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथर १, सुनसरी ८, उदयपुर २, संखुवासभा ३ जना संक्रमित थपिएका छन्।

प्रदेश २
बारा ४२, धनुषा ६४, महोत्तरी २४, पर्सा १२८, रौतहट ३७, सप्तरी ३, सर्लाही १०७ र सिरहामा १६ जनामा कोरोना पृष्टि भएको छ।

बाग्मती प्रदेश
भक्तपुरमा १७, चितवन ४९, धादिङ २, दोलखा २, काठमाडौं १३८, काभ्रेपलान्चोक २१, ललितपुर ५०, मकवानपुर ३०, सिन्धुली १ र सिन्धुपालचोकमा ३ जना नयाँ संक्रमित थपिएको छन्।

गण्डकी प्रदेश
बाग्लुङ ३, गोरखा २, कास्की १६, लमजुङ १, नवलपरासी पूर्व ४, स्याङ्जा १ र तनहुँमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रदेश ५
बाँकेमा ६, बर्दिया ९, दाङ १, कपिलवस्तु १९, नवलपरासी पश्चिम १, रोल्पा १ र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण भेटिएको छ।

कर्णाली प्रदेश
दैलेखमा ५, रुकुम पश्चिममा १ र सुर्खेतमा १ जनामा कोरोना पृष्टि भएको छ।

सुदूरपश्चिम प्रदेश
दार्चुलामा २, डोटी ४६, कैलाली १ र कन्चनपुरमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा गत २४ घन्टामा १३ हजार ४ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ।

कुल संक्रमितमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ९ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।