काठमाडौं,३ साउन । नेपाली कांग्रेसले खुरूखुरू क्रियाशील सदस्यता वितरण गरेको भए तीन दिनअघि नै ७७ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सकिन्थ्यो। तर महाधिवेशन कार्यतालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यताका काम गरेन। भर्खर ६३ जिल्लामा क्रियाशील सदस्यता वितरणका लागि केन्द्रीय कार्यालयबाट फारम पुगेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार १४ जिल्लामा क्रियाशील सदस्यताका फारम पुग्न बाँकी छ।
मुख्य सचिव पौडेलले ढिलाइका पछाडि दुई कारण रहेको बताए। पहिलो, बाँकी रहेका जिल्लामा संघीय संचरनाअनुसार समायोजनका काम सक्न ढिलो भयो। समायोजन नसकिएका जिल्लामा क्रियाशील सदस्यता फारम पठाइएको छैन। दोस्रो, कोरोना महामारीले कार्यतालिकाअनुसार तीव्र गतिमा काम गर्न गाह्रो छ। ३० भन्दा बढी जिल्लामा निषेधाज्ञा छ जसले गर्दा पार्टीका कामहरू प्रभावित भइरहेका छन्।
अन्तरिम संरचनाअनुसार समायोजन बाँकी रहेका जिल्लामा कांग्रेसको वडा तहसम्म समिति थिएन। क्रियाशील सदस्यता वितरण र नवीकरणका काम वडा समितिबाट हुनुपर्छ। त्यसकारण समायोजन सकेका जिल्लामा मात्रै क्रियाशील फारम पठाउने केन्द्रीय समितिको निर्णय थियो। बाँकी १५ जिल्लामध्ये तीन जिल्लामा समायोजनका काम केही बाँकी रहेको पौडेल बताउँछन्।
‘मुस्ताङ, धनुषा र सप्तरीमा समायोजनका काम बाँकी छ। मुस्ताङमा एउटा पालिकामा समायोजनको काम बाँकी रहेको जानकारीमा छ। यस्तै अरू जिल्लामा पनि एक-दुई ठाउँमा केहि समस्या छ। छिटै समाधान हुन्छ,’ उनले भने।
यसबीचमा केही जिल्लाले भने समायोजनका काम टुंग्याएका थिए। तर निर्वाचन समितिले समायोजन सकिएका जिल्लामा विधानअनुसार समायोजन भए/नभएको हेर्न पाएको छैन। ‘कोरोनाका कारण निर्वाचन समितिको बैठक बस्न सकेको छैन,’ उनले भने, ‘बैठक बस्यो भने केही जिल्लाका समायोजन टुंगिएका थिए। त्यहाँ क्रियाशील फारम पठाउन पाइन्थ्यो। तर निषेधाज्ञा भएकोले समायोजन सकिएको केही जिल्लाका नेताहरू केन्द्रीय कार्यालय आउन पनि पाउनुभएको छैन।’
कांग्रेसले यसपटक क्रियाशील सदस्यता शतप्रतिशत नै वृद्धि गर्ने समझदारी गरेको छ। केन्द्रीय समितिबाट यो निर्णय भने भइसकेको छैन। तर सभापति शेरबहादुर देउवा निवासमा हालै बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले शतप्रतिशत नै क्रियाशील सदस्यता वितरण गर्ने समझदारी गरेको थियो। ‘३५ जिल्लामा थप क्रियाशील फारमसमेत गइसकेको छ,’ पौडेलले भने।
कांग्रेस विधानअनुसार गाउँपालिका वडामा कम्तिमा ४२ जना क्रियाशील सदस्य हुनुपर्छ। यो संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप्न सक्ने यसअघि नियम थियो। अब शतप्रतिशत नै नयाँ क्रियाशील थप गर्न सक्ने नेताहरूबीच समझदारी भएपछि ३५ जिल्लामा थप क्रियाशील फारम पठाइएको हो। २०७२ सालमा भएको कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य संख्या चार लाख ७० हजार थियो। विजयकुमार गच्छदार समूहलाई २५ हजार क्रियाशील सदस्यता दिने यसअघि नै समझदारी भइसकेको छ। अहिले कांग्रेसका करिब पाँच लाख क्रियाशील सदस्य छन्। ‘शतप्रतिशत क्रियाशील सदस्य थप्ने नेताहरूबीच समझदारी भएको छ। तर केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी छ,’ उनले भने, ‘तर ३५ जिल्लामा थप फारम पुगिसक्यो।’
कांग्रेसले कार्यतालिकाअनुसार काम गर्न नसक्दा फागुनमा हुने तय भएको १४ औं महाधिवेशन प्रभावित हुने देखिएको छ। चार वर्षमा हुनुपर्ने महाधिवेशन विधानको अधिकार प्रयोग गरेर देउवाले एक वर्ष कार्यकाल थपेका थिए। फागुन १९ मा देउवाको कार्यकाल सकिँदैछ।
कोरोना महामारी जारी नै रह्यो भने देउवाले संविधानले दिएको अधिकारअनुसार छ महिना कार्यकाल लम्ब्याउन सक्छन्। आउँदो भदौसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ।
