संसदीय समितिको सरकारलाई निर्देशन – २४ घण्टाभित्रै पिसिआर रिपोर्ट उपलब्ध गराउनू

मुख्य समाचार राजनीति

काठमाडौं,९भदौ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्रै पिसिआर जाँचको रिपोर्ट उपलब्ध हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समिति बैठकमा सांसदहरूले १३ दिनसम्म समेत पिसिआरको रिजल्ट उपलब्ध नगराउँदा समस्या भएको बताएका थिए। समिति सभापति जयपुरी घर्तीले कतिपय बिरामीको अस्पतालमा उपचारका लागि रिपोर्ट पर्खंदा ज्यान जाने अवस्था आएको बताइन्।

समितिले सरकारलाई २४ घण्टाभित्रै रिजल्ट सम्बन्धितलाई इमेल, फोन अथवा भाइबरबाट भए पनि उपलब्ध गराउन निर्देशन दिएको हो।

त्यस्तै, समितिले पिसिआर परीक्षण बढाउन समेत सरकारलाई निर्देशन दिएको छ।

समितिले एक घरबाट एक जनाको परीक्षण गर्न पनि सुझाएको हो।

यसैगरी, समितिले होम आइसोलेसन धनी र घर हुनेलाई मात्र सम्भव भएकाले आइसोलेसन सेन्टर बढाउन सरकारलाई सुझाएको छ।

समितिले एउटै कोठा वा फ्ल्याटमा बस्नेका लागि होम आइसोलेसन खतरापूर्ण रहेको औंल्याएको छ।

शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार भर्चुअल मिटिङमा समिति सभापति घर्तीले समुदायस्तरमा कोरोना पुगेको अवस्थामा व्यापक पिसिआर गर्न निर्देशन दिएकी छन्।