काठमाडौं,२८भदौ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दक्षिण एशियाका मानवाधिकारकर्मी तथा सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षकाउमेरमा निधन भएको प्रति दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी भारतमा रही समग्र दक्षिण एशियाको दलित आन्दोलन, बँधुवा मजदूर आन्दोलन, महिला तथा अल्पसङ्ख्यकको आन्दोलन र अभियानकर्मीको निधनले अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ ।
अग्निवेशको यही भदौ २६ गते निधन भएको थियो । आफ्नो जीवनकालमा मानवताका लागि उहाँले देखाउनुभएको बाटो र सामाजिक योगदानका कारण उहाँ कैयौँ पुस्तासम्म जीवित रहने विश्वाससहित अग्निवेशप्रति इन्सेकले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
नेपालको मानव अधिकार आन्दोलन तथा लोकतन्त्र र विगतमा बँधुवा श्रम विरोधी अभियानमा नेपालका मानव अधिकारकर्मीसँगै अग्निवेश सहयात्री हुनुहुन्थ्यो । मानवतावादी व्यक्तित्व स्वामीले दक्षिण एशियाली देशमा बँधुवा, मजदूर, महिलामाथि हुने हिंसा, दलितविरुद्ध हुने विभेदका विरुद्ध आवाज उठाउनुभएको थियो ।
पञ्चायत विरोधी आन्दोलनमा नेपालका राजनीतिक दल तथा मानव अधिकारकर्मीसँग निकट रहेर काम गर्नुभएका अग्निवेशले भूटानबाट लखेटिएका नेपाली भाषीका पक्षमा वकालत गर्नुभएको थियो ।
इन्सेकको स्थापनाकालदेखि नै यससँग निकट रहनुभएका अग्निवेशले कमैया मुक्ति आन्दोलनका साथै अन्य विभिन्न अभियानका सन्दर्भमा पटकपटक नेपाल भ्रमण गरी नेपालका सीमान्तकृत नागरिकका पक्षमा आवाज उठाउनुभएको थियो । सामाजिक अभियानमा पु¥याउनुभएको योगदानका कारण राइट लाइवलिहुड अवार्ड’ बाट सम्मानित उहाँ सधैँ अतिवादीहरूको निशाना बन्नुभएको थियो ।
