नेविसंघको एउटा समूहद्वारा निःशुल्क मास्क बाँड्ने अभियान सुरु

समाचार

काठमाडौं,१७असोज। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ ।

सामान्यतया एकपटक लगाएको मास्क फेरि प्रयोग गर्न नमिल्ने भएकाले हरेक दिन नयाँ–नयाँ मास्क फेरेर लगाउने क्षमता सबैको छैन । त्यसैले नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले झण्डै चार लाख मास्क निःशुल्क बाँड्ने अभियान सुरु गरेको छ । यो अभियानको सुरुवात कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार अपराह्न नयाँबानेश्वरबाट गरेका छन् ।

शनिबारबाट काठमाडौंका मुख्यमुख्य सार्वजनिक स्थानबाट निःशुल्क मास्क वितरण थाल्ने नेविसंघले जनाएको छ ।
नेविसंघले वितरण गरेको एउटा प्याकेटभित्र चारवटा मास्क छन् । सार्वजनिक स्थानमा भेटिने हरेक व्यक्तिलाई एक–एक वटा प्याकेट निःशुल्क वितरण गरिने छ ।

मास्कको प्याकेट भित्र कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सजगताका सन्देश लेखिएको पर्चासमेत राखिएको छ । अनिवार्य मास्क लगाउने, साबुन पानीले बेलाबेलामा हात धुने, व्यक्तिगत दुरी कायम गर्नेलगायतका सन्देश पर्चामा लेखिएको छ ।