काठमाडौं,१८ कार्तिक। बाटोमा सञ्चालन हुँदै आएका होटल व्यवसायीले खाना तथा नास्ताको मनपरी रकम असुल्न थालेका छन् । कोरोना भाइरसका कारण करीब ६ महिनाको बन्दाबन्दीपछि यातायातका साधन खुलेसँगै होटल रेस्टुरेन्ट पनि खुलेपछि यातायात कर्मचारी र होटेल व्यावसायीको मिलेमतो खाना र नास्तामा यात्रुसँग मनपरी रकम असुल्न थालिएको हो । कोरोना भाइरसकै कारण थला परेको अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको अवस्थामा व्यवसायीले मनपरी खानाको पैसा लिन थालेपछि यात्रु मर्कामा परेका छन् ।
कैलालीको टीकापुरबाट अछाम हिँडेका गोविन्द सोडारीले एक खानाको रु २०० तिर्नुप¥यो । विसं २०७६ चैत १० गते अछामबाट टीकापुर आउँदा उहाँले बाटोमा सादा खानाको रु १५० तिर्नुभएको थियो । उहाँका अनुसार बस चालकले जोरायल गाउँपालिका डोटीको गैरामा एकमात्र होटल भएको ठाउँमा बस पार्किङ गरेर खाना खान भन्यो । त्यहाँ अर्को कुनै विकल्प पनि थिएन । अर्को होटलमा जाने वा खानाको सट्टा खाजा पाउने ।
“दुई रोटीको रु २०० तिर्नु प¥यो”, गोविन्दले भन्नुभयो, “नखाउँ पेटले मागेको छ, खाउँ दुई रोटीको २०० ।” उहाँले मानिससँग पैसा नभएको बेला हुने यस्तो कालोबजारी रोक्न राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो । उक्त होटल कुनै आधिकारिक निकायमा दर्तासमेत नभएको पाइएको छ ।
त्यस्तै अछामबाट रोजगारीको सिलसिलामा भारत हिँडेका प्रेमबहादुर विकले होटेल व्यवसायीसँग झगडा नै गर्नु प¥यो । राति साढे ११ बजे बस चालकले डडेल्धुराको भातकाँडा एक होटेलमा खाना खानका लागि भन्दै बस पार्किङ ग¥यो । त्यहाँ एक होटेलभन्दा अर्को कुनै पसलसमेत थिएन । उहाँसँग सीमित पैसा थियो । त्यही पैसाले उहाँले भारत पुग्नु पनि थियो भने बाटोमा खाना खानु पनि । उहाँले मासु र खानाको कुपन माग्नुभयो । रु एक हजार दिनुभयो । पैसा छुट्टा नभएपछि होटल सञ्चालकले पछि लिन भने । प्रेमले खाना खाए र पैसा फिर्ता माग्दा उहाँलाई रु ५१० मात्र फिर्ता दिइयो ।
पैसा कम दिएपछि मैले होटल सञ्चालकलाई सोधे, “मटन खानाको रु ४९० रहेछ ?”, उहाँले भन्नुभयो, “२८० मा पाइने खानाको बन्दाबन्दी खुलेसँगै रु २१० बढिसकेको रहेछ ।” त्यति मात्रै होइन, बस चालकले होटल व्यवसायीसँग पहिले नै पैसाको समेत बार्गेनिङ गर्ने गरेका छन् । बसका यात्रुअनुसार एक हजारदेखि तीन हजारसम्म बस रोकेर यात्रुलाई खाना खुवाएबापत चालक र बसका अन्य कर्मचारीहरुले पाउने गरेका छन् ।
अछामबाट धनगढीका लागि छुटेको खप्तड मालिका यातायातको १७३ नं बसका कर्मचारीले होटेल सञ्चालकसँग यात्रुलाई खाना खुवाएबापत रु दुई हजार फोन गरेर माग गरेको प्रेमले बताउनुभयो । पहिले होटेल सञ्चालकले खानाको कुपन दिने र त्यस कुपनमा रेटसमेत उल्लेख हुने तर, अहिले कुपनको सट्टा होटेलको भिजिटिङ कार्डलाई कुपन भनेर ग्राहकलाई दिने गरेका छन् । त्यही भिजिटिङ कार्डमा कुनै रेट लिस्टसमेत उल्लेख गरिएको हुँदैन ।
