निर्माण सम्पन्न भएको ८ महिनापछि ओर्लाङघाट पुलको उद्घाटन शनिबार

अन्तराष्ट्रिय राजनीति समाचार

सोलुखुम्बु । बिश्वभरकै पर्यटकहरूको आकर्षणको केन्द्र मानिने पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलाई सिधा जोड्ने माप्य–खुम्बु मितेरी मोटरेबल पुल शनिबारबाट औपचारिक सन्चालनमा आउने भएको छ।

ठेकेदार कम्पनी जलप नेपालले ओर्लाङघाटस्थित सो पुलको निर्माण कार्य गत बैशाखमै सम्पन्न गरेपनि यसको औपचारिक उद्घाटन आगामी मंसिर ६ गते गर्न लागिएको माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राइले जानकारी दिए।अध्यक्ष राइका अनुसार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले सो पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष राइका अनुसार रु. ९ करोड ४५ लाखको डीपीआर बनेपछि टेण्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत विलो (न्यून) रकममा काम गरेको हो । कम्पनीले जम्मा रु. ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको उनले बताए।

पुल उद्घाटन कार्यक्रममा प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङ्बो, संघीय सांसद हेमकुमार राई ‘सुरबीर’, प्रदेश सांसदहरु उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, जिसस सोलुका प्रमुख बीरकुमार राई लगायतको उपस्तिथि रहने बताइएको छ।

सो मोटरेबल पुल निर्माणका लागि संघीय सांसद कोषमार्फत १ करोड , प्रदेश सरकारबाट २ करोड र माप्य दुधकोशी गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०/५० प्रतिशत खर्च ब्यहोरेका थिए।

माप्यदुधकोशी गाउँपालिकाको गौरबको आयोजनाका रूपमा रहेको सो पुल सन्चालनमा आएपछि स्थानीयबासीहरु उत्साहित देखिएका छन।खुम्बु पासाङल्हामू र माप्यदुधकोशी गाउँपालिका जोड्ने पुल भएपनि पुल निर्माणमा अध्यक्ष राइको सकृयता र योगदान प्रशंसनीय रहेको उनीहरूको भनाइ छ। दुबै गाउँपालिकाका जनताको सहजता र आर्थिक उन्नतिका लागि पनि कोशे ढुंगा मानिएको यो पुल निर्माणमा अध्यक्ष राइले अपनाएको मितब्ययिताको बेवास्ता गर्दै बिरोधीहरुले सुरु गरेको कुप्रचारप्रति माप्यबासी आक्रोशित छन।