काठमाडौं । अन्तर्राष्ट्रिय आर्ट एक्टस् नेपालले आयोजना गरेको प्रथम एक दिवसीय चित्रकला प्रतियोगिता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा निष्ट कलेज काठमाडौंमा अध्ययनरत सौगात आचार्य प्रथम भएका छन् । यसैगरी ब्लुस्टार कलेज ललितपुका छात्राहरु रिया बज्रचार्य दोस्रो तथा मोक्षा श्रेष्ठ तेस्रो भएका छन् । नेपाल कलेज अफ म्यानेजमेन्ट धोविघाटमा आयोजित उक्त प्रतियोगितामा देशभरका १७ वटा कलेजमा अध्ययनरत २३ विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
चित्रकलामा उत्कृष्ठ हुन सफल प्रतियोगिहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै प्रथम हुने प्रतियोगिलाई आगामि मार्चमा दुवईमा हुने अन्तर्राष्ट्रिय आर्ट सम्मेलनमा सहभागी गराईने उक्त संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक रामहरि गिरीले घोषणा गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि डा.निरन्जन कोइराला, अतिथिहरु नेपाल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल प्रा.डा. सुशिलभक्त माथेमा, वरिष्ठ चित्रकार गोपाल मानन्धर, चित्रकार अजय देसार, प्रज्ञिक सदस्य राजमान महर्जन लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।

