वैदिक नववर्षारम्भमा स्वाद्ध्यायशालामा प्रवचन

समाचार

काठमाडौं । लगध मुनिको विश्वकै प्राचीनतम ज्योतिषग्रन्थ वेदाङ्गज्योतिषअनुसार आज परेकोे नयाँ वर्ष लाग्ने वैदिक तपः महिनाको शुक्ल पक्षको प्रतिपदाका उपलक्ष्यमा स्वाध्यायशाला, बुढानीलकण्ठ न.पा.–६ शिवमन्दिरमार्ग, हात्तीगौँडामा “वैदिक पात्रो”का विषयमा प्रवचन र छलफल कार्यक्रम सम्पन्न भयो । यस अवसरमा “वेदाङ्गज्योतिष” पाठ समेत गरी नववर्ष मनाइयो । कार्यक्रममा प्रमोदवर्धन कौण्डिन्न्यायनले वेदाङ्गज्योतिषको महत्त्वका विषयमा प्रकाश पार्नुभएको थियो । प्रा.डा.आमोदवर्धन कौण्डिन्न्यायन, प्रियंवदाम्बा काफ्ले डा.सम्मोदवर्धन कौण्डिन्न्यायन लगायतले यस कार्यक्रममा बोल्नुभएको थियो ।

वेदाङ्गज्योतिषअनुसार सूर्य वास्तविक उत्तरायण लाग्ने दिनको अर्थात् वर्षभरिमा सबभन्दा छोटो दिनको नजिक पर्ने शुक्लपक्षको प्रतिपदाबाट नयाँ वर्ष, अयन, ऋतु, र महिनाको प्रारम्भ मानिन्छ । यस पद्धतिमा अयनको अन्त्यमा आषाढमा र पौषमा मात्र अधिकमास पर्छ । भारतमा पहिले नै हराएको भएपनि नेपालमा लिच्छविकालदेखि मल्लकालका सोह्रौं शताब्दीसम्म पनि यो मौलिक वैदिक पद्धति संरक्षित भएको र व्यवहारमा रहेको कुरा काठमाण्डौँ उपत्यका र यसका वरपरका क्षेत्रमा प्राप्त धेरै शिलालेख आदि सामग्रीबाट प्रमाणित भएको छ । अहिले पनि उपत्यकाका परम्परागत मच्छेन्द्रनाथको रथयात्रा इत्यादि पर्वहरूको निर्धारणमा यसको प्रभाव रहेको छ ।

वेदाङ्गज्योतिषको विशेष अनुसन्धान गरी यस काल–गणना–पद्धतिलाई पुनर्जागरित गर्न र प्रचारित गर्न स्वाद्ध्यायशालाकुटुम्ब विगत २५ वर्षदेखि कार्यरत छ । यसै परिप्रेक्षमा दुई पुस्तकहरू, दुई सन्देश–पुस्तिकाहरु प्रकाशित छन् । विगत ११ वर्षदेखि वेदाङ्गज्योतिषअनुसारको “वैदिक पात्रो” पनि प्रकाशित हँुदै आएको छ ।