सुरक्षा चुनौतीबारे देशभर सर्कुलर

राजनीति समाचार

काठमाडौं,५ पुस। सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको छ। प्रहरी प्रवक्ता वसन्त कुँवरले मुख्यगरी राजधानीसँगै देशभरको सुरक्षा सतर्कता बढाइएको बताए।

‘अहिलेसम्म हामी पनि पर्ख र हेरको अवस्थामै छौं, निर्णय के हुन्छ भन्ने अन्यौल नै छ, तर, विघटन भइहाले त्यसले निम्त्याउने सुरक्षा चुनौतीका बारेमा सूक्ष्म अध्ययन गरिरहेका छौं’, प्रवक्ता कुँवरले नेपालखबरसँग भने, ‘तत्कालका लागि चुनौती आउन सक्ने भएकाले सुरक्षा सतर्कता बढाउन सर्कुलर गरेका छौं।’

संसद विघटनका लागि सरकारले सिफारिस गरेसँगै आइतबार विभागीय प्रमुखहरुसँग प्रहरी महानिरीक्षक शैलेश थापाले छलफल गरेका छन्। छलफलमा अहिलेसम्म अन्यौल नै रहेको र विघटन भइहाले त्यसले सुरक्षा चुनौती बढ्ने, देशभर प्रदर्शन हुन सक्ने र असंवैधानिक गतिविधि बढ्ने सुरक्षा निकायको निस्कर्ष छ।