काठमाडौँ, १४ पुस । उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।
मंगलबार बिहान यादवले ुमलाई गाह्रो भयोु भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।
यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।
मिश्रका अनुसार आन्दोलनपश्चात उनी बास बस्न जोरपाटी जान्थे । ‘राति एक्कासि हृदयघात भयो,’ मिश्रले भने, ‘दुःखद समाचार सुन्न पर्यो ।’
उखु किसानहरु मसिर २८ गतेदेखि आन्दोलन गरिरहेका थिए । आन्दोलन गरेपछि उखु मिलले किस्तामा भुक्तानी गरिरहेको थियो । यादवले पनि अन्नपूर्ण मिलबाट दुई लाख भुक्तानी पाएका थिए । किसानहरु सबै रकम लिएरै मात्रै घर फर्किने बताउँदै आएका थिए ।
