काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउँदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे ।
पौडेलले भने, “म चितवनको यो सहिदभूमीबाट न्यायमूर्तिहरुलाई सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।”
उनले संसदको विघटन लोकतन्त्र, संविधान र राष्ट्रमाथि एकै पटक प्रहार गरेको बताए । वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ (५)को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत बताए ।
पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने नहुने तर चुनावभन्दा ठूलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे । पौडेलले भने, “खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाउँ लोकतन्त्र जोगाउँ । लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागि हुन पाइन्छ ।”
वरिष्ठ नेता पौडेलले चुनाव गराउन प्रतिनीधिसभा भङ्ग नगरेको बताउँदै मुलुकलाई संकटतर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताएको आरोप लगाए । भोलि चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ ? प्रश्न गरे ।
