संसद विघटन विरुद्ध धरानमा कांग्रेसको मोटरसाईकल र्‍याली

मुख्य समाचार राजनीति समाचार

धरान । प्रतिनिधिसभा संसद विघटन गरेको विरुद्ध नेपाली कांग्रेसले धरानमा बृहत मोटरसाईकल र्‍याली विरोध प्रदर्शन गरेको छ ।

शनिबार धरानमा कांग्रेसको पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार धरान उपमहानगर समितिको आयोजनामा बृहत मोटरसाईकल र्‍याली निकालेर विरोध प्रदर्शन गरेको हो । धरान १२ स्थित पब्लिक माविको मैदानबाट सुरुभएको मोटरसाईकल र्‍याली कलेज रोड, मुनाल पथ, राँगाचौक, दुर्गाचौक, कल्याण चौक, न्यूरोड, रत्नचौक, रेलवे, वीपी शुन्दर बजार, वुद्धचौक, धनकुटे रोड, भोटेपुल, बरगाछी, श्यामचौक, आडा लाईन, पिण्डेश्वरीचौक, माछाभौडी, देशीलाईन, भानुचौक, छाताचौक हुँदै उपमहानगरपालिको गेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसले आज धरान सहित देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।

विरोधसभामा नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कम्युनिस्ट सरकारले जनताको जनमत र भावनाको कदर गर्न नसकेको भन्दै आरोप लगाए । कम्युनिस्ट सरकारले संविधानको संवैधानिक अंगमा रहेर संविधानको नियम पालना गर्नु नसकेको उनको आरोप लगाए । केपी ओली सरकारले संविधानलाई कु गरेको बताए । कम्युनिस्ट सरकार अलोकतान्त्रिक र प्रतिगामी ढंगबाट अघि बढेको बताउँदै नेपाली कांग्रेसले यसको विरुद्धमा घोर भत्र्सना गर्ने उनले बताए । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा भंग गरेर संविधानमाथि कु गरेको औल्याए ।

नेपाली कांग्रेसका पूर्व नगर सचिव सुधिर लिम्बुले प्रधानमन्त्री केपी ओलीले जनताको अभिमतलाई अपमान गरेर प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । नेकपा सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको उनले बताए । कम्युनिष्ट सरकारले बहुमतको कदर गर्न नसकेको बताउँदै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस मात्र भएको उनले दाबी गरे । कम्यूनिष्ट सरकारले देशलाई अध्याँरोतिर धकेलेर लाखौं यूवाहरुलाई विदेश जान बाध्य बनाएको उनको भनाई थियो ।

यसैगरी विरोधसभामा नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य प्रेम लकान्द्रीले प्रधानमन्त्री केपी ओली सरकारले भागबण्डा र भ्रष्टाचारमा कुरा नमिलेर प्रतिनिधिसभा भंग गरेको बताए । नेकपा सरकारको आन्तरिक झगडाको कारण नेपाली जनताले दुःख पाएको उनको भनाई थियो । अब देशलाई विकास तथा समृद्धिको दिशामा पुर्याउन नेपाली कांग्रेसले मात्र सक्ने उनले दाबी गरे । नेपाली कांग्रेस सुनसरीकी जिल्ला सदस्य एवं नेतृ निरु गिरी थापाले कम्युनिष्ट सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउँदै भागबण्डा र कुर्सिको कारण प्रतिनिधिसभा विघटन गरेको औंल्याईन् । राष्ट्रपति विद्यादेवि भण्डारीले महिलाको हकहितका निम्ति सिन्को समेत भाच्ने काम नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेको बताईन् । विरोधसभामा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस धरान उपमहानगरका सभापति समेत रहेका उपमहानगर प्रमुख तिलक, कांग्रेस जिल्ला सचिव सुजेन्द्र गोले तामाङ लगायत भातृसंगठनका नेताहरुको उपस्थिति रहेको थियो भने विरोधसभा कार्यक्रम नेपाली नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले सञ्चालन गरेका थिए । कांग्रेसले संसद विघटनको विरुद्धमा माघ ८ गते ७ सय ५३ स्थानीय तहको ६ हजार ७ सय ४३ वडाहरुमा तेस्रो चरण अन्तर्गतको आन्दोलनको घोषणा गरेको छ ।