जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी बैसाख १७ गते र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो । निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले आईतवार दिक्तेलमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया गरेको छ ।
निर्वाचन आयोगले गत पुस १६ गतेदेखि आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताईन् । जिल्लाका १० स्थानीय तहमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म र जिल्लामा माघ १५ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार पारिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुशार आगामी माघ १६ र १७ गते प्रत्येक स्थानीय तहको केद्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पुर्ण मतदातालाई जानकारी गराइने छ ।
जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने छन् । सो कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी दिइएको छ । त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिईन् ।
आगामी बैसाख १७ गते र २७ गते तोकिएको निर्वाचनमा गत पुस ५ गते १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने छन् । निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा सोही निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ताको काम भने नगरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहमा आगामी माघ १८ गतेदेखि २० गते सम्म सम्बन्धित स्थानीय तहभित्रै नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने लगायतका काम गरिने छन् । कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउनका लागि राजनैतिक दल, गैरसरकारी संघ÷संस्था, नागरिक समाज, सञ्चारकर्मी सवैलाई प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ ।
