साल्टट्रेडिङले फेब्रुअरी महिनाभरि आयोडिन महिना मनाउने

आर्थिक समाचार

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले फेब्रुअरी महिनाभरि आयोडिन महिना मनाउने घोषणा गरेको छ । भोलि सोमबार माघ १९ गते अर्थात् फेब्रुअरी महिनाको १ तारिखदेखि फेब्रुअरी महिनाभरि नै आयोडिन महिना मनाउने घोषणा गरेको हो । युनिभर्सल साल्ट आयोडाइज (युएसआई) का सदस्य राष्ट्रहरुको रुपमा नेपालले सन् १९९८ देखि हरेक वर्ष निरन्तर मनाउँदै आएको ‘आयोडिन मन्थ’ सोमबारदेखि सुरु हुन लागेको हो ।

युएसआईको आह्वान अनुसार प्रत्येक वर्षको फेब्रुअरीलाई विश्वभर यस्तो महिनाको रुपमा मनाउने गरिएको छ । सो अवधिमा आयोडिनयुक्त नुनको प्रयोगको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
आयोडिनको कमीका कारण नेपालमा विगतमा निकै ठूलो विकृति देखिँदै आएको छ । सोमध्ये सबैभन्दा महत्त्वपूर्ण विकृतिको रुपमा रहेको भिजिबल गोइटर सज् १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा यो घटेर ०.४ प्रतिशतमा सीमित भएको थियो । अहिले यो शुन्यमा झरिसकेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्दै आएको नुनमा आयोडिन मिश्रण गर्न थालेपछि नेपालमा यस्तो विकृति शुन्यमा झरेको हो ।

नेपालले सन् २०१८ सम्म आयोडिनयुक्त नुन प्रयोगकर्ता ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको थियो । नेपाल सरकारले गरेको एनएनएमएस सर्भे अनुसार सन् २०१६ मा यस्तो संख्या ९१ प्रतिशत नाघिसकेको छ । त्यस्तै, सरकारले गरेको एनडीएचएम सर्भे अनुसार २०१६ मा ५ वर्ष मुनिका ९४ प्रतिशत बालबालिकाले उपयुक्त मात्रामा आयोडिन नुन पाएको देखिएको छ ।

सोमबारदेखि एक महिनासम्म चल्ने उक्त कार्यक्रममा कर्पोरेसनले नेपाल सरकारले जनस्वास्थ्यसम्बन्धी सबै निकाय, स्थानीय तह, विद्यालय, गैरसरकारी संस्था, नागरिक समाज लगायतसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

त्यसका लागि जनस्वाथ्यसम्बन्धी, विद्यालय, हाटबजार लगायत क्षेत्रमा माइकिङ गर्ने, जनचेतनामूलक सामाग्री वितरण गर्ने, प्रदर्शनी कक्ष राख्ने जस्ता कार्यक्रम सञ्चालन हुने कर्पोरेसनले जनाएको छ ।
सरकारले विगत ५७ वर्षदेखि साल्ट ट्रेडिङलाई देशभर आयोडिनयुक्त नुन वितरणको जिम्मेवारी दिदै आएको छ । कर्पोरेसनले ग्रामीण क्षेत्रसम्म दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुनको वितरण गर्दै आएको छ । यो वर्ष कर्पोरेसनले चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टीसर्ट, पम्प्लेट, फेसमास्क लगायत वितरण गरिनेछ ।