कामदार दैनिक संवाददाता
काठमाडौँ।
नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले ७१ औ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिदै प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबैलाई आग्रह गरेका छन् । सन्देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेका छन् ।
अध्यक्ष ढकालले नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० बर्षे जन-बिद्रोह ,२०६२/६३ को दोस्रो शान्तिपूर्ण जनआन्दोलन, मधेस बिद्रोह, थरुहट आन्दोलन, आदिबासी तथा जनजाति लगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका अप्रर्ण गरेका छन् ।
ढकालले सन्देशमा अधुरा सपना पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आआफ्ना ठाउँमा इमान्दार र देशभक्तिको भावना सहित सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, स्थायी शान्ति, मेलमिलाप, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन सफल होस भन्ने कामना समेत ढकालले गरेका छन् ।