
नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् । काठमाडाैंमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यस विरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन् ।
उनले संस्था बलियो बनाउने भन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए ।
‘२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिईसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु – एउटा आशंका छ कि तपाईको पृष्ठभूमि हेर्दा, तपाईंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरु बलियो बनाएर,पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्न भन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ । यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहदाँ यो नहोस् भन्ने थियो । ’
संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिष्पर्धालाई नयाँ उचाईमा लैजान्छ भन्ने अपेक्षा भएपनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे । संसद, अदालत, संवैधानिक निकायहरु, आयोगहरु, प्रशासन लगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालिन सोच राखेर नभई व्यक्ति केन्द्रीत शक्ति एकिकृत गर्ने ढंगबाट अघि बढेको बताए ।
विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे । पछिल्लो समय ओली पक्षमा रहेका समुह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे ।
उनले भने ‘पपुलिष्ट लिडरको क्यारेक्टर एउटै हुन्छ । पपुलिष्ट लिडर देशको समस्याहरु अत्यन्तै सामान्य छन् । म भन्दा अगाडिका शासकहरु खराब र अयोग्य भएकाले गर्न नसकेको हो । तर म संग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ । ’ उनले वर्तमान सरकारले नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दावी गरे ।
