उपभोक्ता समितिले गरेको देखिने काम धुलिखेल नगरपालिकामा

मुख्य समाचार समाचार

विष्णु चौलागाई
धुलिखेल । स्थानीय तहमा उपभोक्ता समितिहरुले गरेको काम बालुवामा पानी हाले सरह भन्न थालिएको छ । आ.व. ०७४/०७५ को बजेटमा काभे्र जिल्लाका स्थानीय तहहरुमा उपभोक्ता समितिले गरेका कामहरु देखिने लायकका भएनन् । पुरानै काम गरिसकेका ठाँउहरुमा योजना पारेर तिनै उपभोक्ताहरुले खल्ती मात्र भरे जनताको लागि केही माखो मारेनन् गाँउ जाँदा स्थानीय गुनासो गर्छन् । चौरीदेउराली गाँउपालिकाका एक स्थानीयले त जिल्लाका सञ्चारकर्मीहरुले काभ्रे जिल्लाका स्थानीय तहमा उपभोक्ता समिति मार्फत भएका कामहरुको खोजी खोजी समाचार बनाउन पनि आग्रह गरे । काभ्रे पोष्ट साप्ताहिक सोही क्रममा हिड्दा उपभोक्ता समितिले गरेको देखिने काम धुलिखेल नगरपालिकामा पाएको छ । काभ्रेको धुलिखेल नगरपालिका–८ भट्टेडाँडादेखि लामीडाँडाको सडक पिच स्थानीय उपभोक्ता समितिले गरेको देखिने काम छ । त्यसैगरी धुलिखेल नगरपालिका–१० शारदा बतासे बीपी राजमार्गस्थित माझ पीपलबोटस्थित सडक ढलान पनि देखिने काम छ । धुलिखेल–७ को सरस्वती बजारमा पार्क निर्माण पनि उपभोक्ता समितिले गरेको देखिने काम धुलिखेल नगरपालिकामा भएको छ ।
धुलिखेल नगरपालिकाका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा रु. १ लाखदेखि रु १ करोडसम्मका २४७ योजनाका काम उपभोक्ता समिति मार्फत गरिएका छन् । बीपी राजमार्गबाट शारदा बतासे हुँदै इँटे नमोबुद्ध सडकका चार ठाउँमा उपभोक्ता समितिबाट गरिएका काम पनि देखिने काममा पर्दछन् । बीपी राजमार्गसँग जोडिएका ठाउँमा १२० मिटर, माथिल्लो र माझ पीपलबोटमा ७५÷७५ मिटर, सुडीखोलामा १२० र ८० मिटर गरी २०० मिटर तथा वडा नम्बर १२ मा १०० मिटर सडक ढलानका लागि रु १ करोडको योजना थियो । भट्टेडाँडादेखि काभ्रेभञ्ज्याङतर्फ ४ मिटर चौडाइ र २५ एमएम मोटाइको साढे ३०० मिटर सडक पिच गर्न धुलिखेल नगरपालिकाले रु ८१ लाख छुट्याएको थियो । तर, उक्त रकमले साढे ९०० मिटर सडक पिच गरिनुका साथै थप तीन किलोमिटर खण्ड चौडा पनि भएको छ । नगरपालिकाले काम जिम्मा दिएपछि कुताल–रविओपी–देवीटार मोटरबाटो निर्माणमा पनि स्थानीयको अपनत्व देखियो । नगरपालिकाले रु ५२ लाख छुट्याएको उक्त योजनामा सडक किनारमा नालीको ‘इस्टिमेट’ गरिएको थिएन । दुई किलोमिटर सडक विस्तारका लागि प्राप्त रकमबाट उपभोक्ता समितिले तीन किलोमिटर सडक विस्तार गर्दै नाली समेत निर्माण गरेको छ ।
काठमाडौं सहितका ठूला महानगरमा जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको आलोचना भइरहँदा धुलिखेलका गाउँबस्तीमा सानो अंशको बजेट पुगे पनि त्यसबाट भएका कामले स्थानीय सरकारप्रति जनविश्वास बढेको छ । विकास–निर्माणमा स्थानीयलाई सहभागी गराउँदा जनताले अपनत्व लिने र ठोस प्रतिफल मिल्ने भएकाले जनसहभागिताको अवधारणा ल्याइएको हो, धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले काभ्रे पोष्ट साप्ताहिकलाई बताए । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु उपभोक्ता मार्फत गर्न सकिने काम पनि ठेक्कामा लगाउँदा समयमा पूरा नहुने र झारा टार्ने काम मात्र हुने भएकाले दिगो विकासका लागि जनसहभागितामा काम गराइएको काभ्रे पोष्टलाई बताए ।