कांग्रेसले सरकार बनाएर चुनाव गराउँछ : डा. कोइराला

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओलीको सरकार फालेर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र चुनाव गराउने बताएका छन् । शान्तिनायक स्व. गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसरमा पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

ओलीको सरकार जति दिन लम्बिन्छ, जति घण्टा लम्विन्छ उति नै सर्वसत्तावाद र अधिनायकवाद हावी हुँदै जाने भएकाले यो सरकारको विकल्प जतिसक्दो छिटो खोजिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीका कारण देश वर्वादीतर्फ अघि बढेको भन्दै उनले संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय भएको बताए । प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा परेको उनले आरोप लगाए ।

नेता कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको भन्दै उनले सभामुख अग्नि सापकोटाले बिजनेस दिन नसकेको आरोपसमेत लगाए ।

आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको उनले स्पस्ट पारे । नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद् भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांग्रेसलाई नभएको स्पष्ट पारे ।

पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको भन्दै नेता कोइरालाले पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

कांग्रेस नेता गुरुराज घिमिरेले विश्व राजनीतिमा गिरिजाप्रसादले तीन वटा ठूला क्रान्ति गरेको उल्लेख गरे । गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको बताए । कांग्रेस नेतृ कमला पन्तले २०४८ देखि ०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताईन् ।

गिरिजा प्रसाद कोइराला फाउन्डेशन कास्की संयोजक यादवराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जिपी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्व सभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रियसभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रियसभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य लगायतले बोलेका थिए ।