खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थाले

प्रवास मुख्य समाचार राजनीति समाचार

कोभिड–१९ को दोस्रो लहरको असर देखिन थालेपछि सरकारले सुरक्षित रहन भन्दै धेरै मानिस जम्मा नहुन सार्वजनिक अपिल गरेको छ । तर, जोखिम बढाउने गरी भारतीय राजदूतावासअगाडि सयौँ भारतीय नागरिकहरू जम्मा भइरहेका छन् ।

खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले भारतीयहरूलाई नेपालको बाटो साउदीतर्फ जानका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेसँगै भारतीयहरू मंगलबारदेखि दूतावासअगाडि लाइन लागेका छन् । मंगलबार सयौँको संख्यामा भारतीयहरू अव्यवस्थित तरिकाले लाइन लाग्दा भिड थेग्न नसकेपछि प्रहरीले हस्तक्षेपसमेत गर्नुपरेको थियो ।

विमानस्थलबाट ‘नो अब्जेक्सन लेटर’ नभएको भन्दै आइतबार साउदी उड्न लागेका ६७ भारतीयहरूलाई फर्काइएको थियो । जजिरा एयरवेजमार्फत जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएको थियो । खाडी मुलुक उड्न आउने भारतीयहरूको संख्या बढेपछि एयरलाइन्सहरूलाई भ्याइ–नभ्याई भएको छ । कोभिड–१९ पछि भारत र नेपालले दैनिक एक–एक उडान गर्न पाउने सहमति छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन् । साउदीले नेपालमा भने सीधा उडानमा रोक लगाएको छैन ।

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । साउदी अरबका होटेललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्ने गरेको अनुमान छ ।

भारतीयहरू नेपाल आएर १४ दिन क्वारेन्टिन बसेर मात्रै साउदी अरबको यात्रामा निस्कने गरेका छन् । जसका कारण नेपालमा बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ हुन थालेका छन् ।

नेपाल र भारत सरकारबीच सम्पन्न भएको एयर बबल एग्रिमेन्टअनुसार दुवै देशबाट एक–एकवटा उडान गर्न पाउँछन् । कुनै पनि देशले आफूले चाहँदैमा उडान संख्या थप गर्न सक्दैनन् ।

दुवैतर्फको उडानमा चाप देखेर नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोरबाट पनि उडान गर्न माग गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल वायुसेवा निगम, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन् ।

भारतबाट साउदी अरबको उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थालेका छन् । त्यसका लागि उनीहरूले दूतावासबाट नो अब्जेक्सन लेटर लिनुपर्छ ।

दूतावासबाट दैनिक ५० जनालाई मात्रै लेटर दिने भए पनि सयाैँको लाइन लागेपछि प्रहरीले भिड हटाउनुपरेको थियो । सोही स्थानको फोटो र भिडियो खिचिरहेका दाहाललाई प्रहरीले किन भिडियो र फोटो खिचेको भन्दै लछारपछार गरेका थिए । प्रहरीले भिडियो र फोटो डिलिट गर्न भन्दै मोबाइलसमेत खोसेका थिए ।

पत्रकार दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, नेपाल प्रेस युनियन काठमाडाैँ शाखालगायतका संघ–संस्थाले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

Facebook Comments Box