वैदेशिक रोजगारी फेरी संकटमा

प्रवास मुख्य समाचार राजनीति वैदेशिक रोजगार

काठमाडौं, १६ वैशाख । कोरोनाको महामारीबाट केही मात्रामा तंग्रन थालेको वैदेशिक रोजगार व्यवयास पुनः थलिने अवस्थामा पुगेको छ । पछिल्लो सयम कोरोनाको दोस्रो लहर सुरु भएसँगै गन्तव्य मुलुकहरूले नेपाली कामदार झिकाउन अनिइच्छा देखाएपछि वैदेशिक रोजगार व्यवसाय थलिने अवस्थामा पुगेको हो ।

नेपालीहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले पहिलो चरणको कोरोनादेखि नै नेपालीलाई लिएको छैन भने खाडी मुलुकमध्ये कुवेतले पनि नेपालीलाई लैजान छाडेको छ । कोरोनाका कारण कामदार पठाउन रोकिएका मुलुकहरूबाट पनि केही सकारात्मक जबाफ आइरहेको अवस्थामा पुनः कोरोना संक्रमण बढेकाले समस्या थप जटिल बन्दै गएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिब सुजितकुमार श्रेष्ठको भनाइ छ ।

कोरोनाले गर्दा मलेसिया, कुवेत, ओमानमा कामदार पठाउने काम पूर्ण रूपमा बन्द रहेको सययमा अन्य देशमा पनि आवत्जावतमा कडाइ हुन थालेकाले अवस्था गम्भीर हुने देखिएको महासचिब श्रेष्ठले बताएका छन् । ‘मलेसियाबाट केहि क्षेत्रमा भए पनि कामदार माग आउने सम्भावना रहेको थियो । तर अहिलेको अवस्थाले गर्दा त्यो पनि विस्तारै टर्दै गएको छ,’ उनले भने । मलेसिया नेपालीको मुख्य श्रम गन्तव्य हो । जोखिम बढ्दै जाँदा रोजगार बजारका ढोकाहरू समेत बन्दै हुँदै गइरहेको व्यसायीको भनाइ छ । कोरोना जोखिमले गर्दा रेमिट्यान्समा आधारित नेपालजस्तो देशमा थप संकट उत्पन्न हने सरोकारवालाको चिन्ता छ । पछिल्लो समय नेपाली कामदार पनि लगिरहेको कतारले कोरोनाका कारण त्यहाँ जाने कामदारका लागि कडाइ गरिसकेको छ । कामदार गइरहेको साउदीमा पनि माग प्रमाणीकरणका लागि समस्या रहेको संघका महासचिब श्रेष्ठले बताए ।

यसले गर्दा मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्ने अवस्था आउन सक्ने कतिपयको तर्क छ । कामदार लैजाने मुलुकमा पनि नियम कडा हुँदै जाने तथा नेपालमा पनि निशेधाज्ञा जारी गरिएको समयमा व्यवसाय थप जोखिममा परेको र व्यवसायीहरू पलायन हुने अवस्था देखिएको व्यवसायीको भनाइ छ । कतिपय व्यवसायीले त वैदेशिक रोजगार व्यवसायलाई छाडेर अर्को व्यवसायसमेत गर्न थालिसकेका छन् ।

नेपालीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको दक्षिण कोरियाले ०७६ फागुनदेखि श्रमिक लगेको छैन । जसले गर्दा करिब १० हजार नेपाली श्रमिक कोरिया जान नपाएको इपिएस शाखाका निर्देशक ईन्द्र गौतमले बताएका छन् । कोरियाले केही समयअघि मात्रै नेपाललाई रेडजोनबाट हटाएको थियो । तर उसले नेपाललाई ग्रिन जोनमा भने राखेको थिएन । ग्रिन जोनमा भएपछि कामदार कोरिया जान पाउने अवस्था हुन्थ्यो । केही सहज बनाएर नेपाली विद्यार्थीलाई कोरिया लैजाने तयारी भइरहेको समयमा कोरोनाको महामारी बढेकाले अवस्था यसै भन्न सकिने अवस्था नरहेको निर्देशक गौतमले बताए । अवस्था हेर्दा पुनः रेड जोनमा नै पुग्ने चिन्ता थपिएको उनको भनाइ छ ।
कोरोनाविरुद्ध खोप लगाउन सुरु भएपछि केही मात्रामा तंग्रिन खोजेको व्यवसायलाई अहिलेको अवस्थाले थप पीडा दिएको व्यवसायीको भनाइ छ । व्यवसायीले पछिल्लो समय बिनाव्यापार घर भाडादेखि कर्मचारीको तलब र ऋणको ब्याजसमेत तिर्नु परिरहेको संघका महासचिब श्रेष्ठले बताए । यस्तो अवस्थामा व्यवसायीलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन् ।

यसै पनि अहिले विदेश जानेको संख्या निकै न्यून रहेको अवस्थामा निषेधाज्ञा भएका कारण विदेश जानका लागि आउनेहरू कम हुँदै जाने निश्चित छ । सरकारले कार्यालयत खोल्ने भनेको छ तर काठमाडौं आएका श्रमिकलाई सेवा दिन सम्भव नदेखिएको संघका महासचिव श्रेष्ठले बताएका छन् । सरकारी कार्यालय खुले पनि अनलाइनको सिस्टम नरहेको र भौतिक रूपमा उपस्थित भएर सेवा लिने अवस्था पनि रहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा संकटको अवस्था आएपछि समस्या समाधानका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको संयोजकत्वमा व्यवसायीसमेत संलग्न रहेको ‘संकट व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । सरकारले वैदेशिक रोजगारी प्रभावित हुन नदिन गर्नुपर्ने सहजीकरणको कामको लागि यो समितिले सिफारिस गर्ने बताइएको छ ।

कोरोनाका कारण रोजगारीका लागि विदेश जाने युवाको संख्यामा निकै गिरावट आइरहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या फागुनसम्म ७४.८ प्रतिशत घटेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ६५.२ प्रतिशत घटेको बताइएको छ ।

श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको १९ चैतसम्मको तथ्यांकअनुसार १ साउनदेखि १९ चैतसम्म ३८ हजार ५१ जना मात्र नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन् । सो अवधिमा श्रम स्वीकृति नवीकरण गरेर ६१ हजार ३ सय ४२ जना पुनः विदेश फर्किएको मन्त्रालयको तथ्यांकमा देखिएको छ ।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले नेपालबाट नयाँ र पुनः श्रम स्वीकृति लिएर बार्षिक रूपमा ४–५ लाख श्रमिक विदेश जाने गएका थिए । तर चालू आर्थिक वर्षमा भने यो संख्या निकै कम हुने निश्चित देखिन्छ । चालु आर्थिक वर्षको १९ चैतसम्म जम्मा नयाँ, पुनः श्रम स्वीकृति तथा वैधानिकीकरण गरी १ लाख ३ हजार ३५ जना श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । आर्थिक वर्ष सकिन करिब ३ महिना बाँकी रहेको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकाले यो संख्या उल्लेख्यनीय रूपमा बढ्ने सम्भावना पनि टर्दै गएको तथ्यांकले देखाएको छ । सो अवधिमा विदेशबाट फर्किनेको संख्या ३ लाख ८१ हजार ६ सय ८ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

कोरोनाका कारण विदेशबाट माग नआएका कारण अहिलेसम्म १ सय १८ वटा म्यानपावरहरूले मात्र नेपाल सरकारले तोकेको १ सय जना कामदार पठाउनु पर्ने मापदण्ड पूरा गरेको संघका महासचिब श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box