–घरडी कमलेश
थिचिएका सपनाको
अधगलो ज्यानले
रातका प्रत्येक प्रहरमा प्रहार गर्दा
मनको भित्री आवास
तहसनहस पार्छ
गुजुल्टो धरायसी उभरको
उभोगतिको चिन्तन गर्दैन र म?
तात्त्विक अभिनयको
बक्र रेखामा
उकुसमुकुस हुने मनोभाव लाई
समेट्न गाह्रो नै त छ
थुनिलो आयातित आहाटको
खुल्ला मुखार बिन्दु
भेट्याइ राको छैन र पो
एक आशययुक्त तरंगको
खोज त निरन्तर छ नि
सक्नेले शताब्दी बिताए
म दिन गन्ने कसुर गर्दै छु
भोग्नेले स्वर्गीय आनन्द भेट्याए
म छिडीको तुसारो पोको पार्दै छु
बोल्नेले युगाण्डा बेचिसके
म सुनको लङ्का बेच्न सकिरा छैन
बोक्नेले पापको भारी उचालेर
केही पाइला हिडिसके
म मनको भारी बोक्न प्रयासरत छु
कोहि ब्यस्त थिए र छन्
मस्त थिए र छन्
म मा मात्रै किन यस्तो आहाट?
म, म हुन सकेको छैन
म भएको स्वाङ पार्छु
उधोगतिको खस्किदो यात्रामा
पदचापको सुरिलो भाका
मनमोहक छ र पो मग्न छु
थाहा छैन
म मेरो तुलना म संगै गरिरहेको छु
वा अरु संग
तर म बाचुन्जेल
म म हुन चाहान्छु
ज्युहजुरी र पराश्रतिको
जीवन जिउनु छैन
भरथेग र सान्त्वनाको भर राख्दिन
केही थान सपनाको पछि दौड्नु छ
केही बटुल्नु र केही भत्काउनु छ
तर म म हुनु छ।