काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी अध्यक्ष सीता देवकोटाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बाँकी कार्यकालका लागि महिला व्यवसायीलाई अध्यक्ष बनाउनुपर्ने माग गरेकी छन् । संघका अध्यक्ष विष्णुप्रसाद गैरेको असामयिक निधनपछि संघको विधानको दफा २६(४) ग अनुसार अघि बढ्नुपर्नेमा संघले उक्त दफा कार्यान्वयनका लागि के गर्दैछ भन्ने कुनै जानकारी प्राप्त नभएको उनले बताएकी छन् ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष देवकोटाले सो दफा कार्यान्वयनका लागि संघको कुनै पनि साधारण सदस्य बाँकी अवधिका लागि अध्यक्ष हुन सक्ने प्रावधान रहेको र वैदेशिक रोजगारको हालसम्मको इतिहासमा महिलाहरू अध्यक्ष भएको नदेखिएकोले महिला व्यवसायीलाई अध्यक्ष पदमा ल्याउनु उपयुक्त हुने बताएकी छन् ।
नेपालको संविधानमा महिला र पुरूषबीचको लैङ्गिक विभेद अन्त्यका लागि मार्ग प्रसस्त गरिएको र महिला तथा पुरूष व्यवसायीले समान धरौटी, समान काम र चुनौती एवं जिम्मेवारी वहन गर्नुपर्ने भन्दै विज्ञप्तिमा अगाडि भनेकी छन्, ‘हालको अवस्थामा संघले उदारता देखाई बाँकी अवधिको नेतृत्व गर्ने जिम्म्वारी महिला व्यवसायीलाई दिई सर्वसम्मत अध्यक्ष बनाउनका लागि सम्बन्धित संघ÷सस्था एवं आम व्यवसायीहरूमा हार्दिक अपिल गर्दछौं ।’
संघका अध्यक्ष गैरेको असामयिक निधनपछि संघको कार्यसमितिले हाल विशेष साधारणसभा हुन र नयाँ अध्यक्षको निर्वाचन हुन नसक्ने भन्दै प्रथम उपाध्यक्ष कमल तामाङलाई कार्यवाहक अध्यक्ष तोकेको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ ।
