काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गण्डकी र बागमती प्रदेशका नेताहरुले शक्तिकेन्द्रबाट सतर्क रहन सुझाव दिएका छन् । साथै, आगामी महाधिवेशनमा जित सुनिश्चित गर्न विमलेन्द्र निधिलाई सहमतिमा ल्याउन नेताहरुले देउवालाई सुझाएका छन् ।
काँग्रेस सभापति देउवाले बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग आइतबार बूढानीलकण्ठमा आन्तरिक छलफल गरेका थिए । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन लागेका देउवाले आफू निकट दुई दर्जन केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।
आगामी भदौ १६–१९ मा हुने महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने रणनीतिका साथ देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । यसक्रममा उनले शनिबार प्रदेश १ र २ का नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।
