पूर्व प्रम कोइरालाका जन्मजयन्तीमा वृक्षरोपण

मुख्य समाचार राजनीति

काठमाडौं, १८ असार । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीमा अवसरमा रबरको वृक्षरोपण गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन र एग्रोटुरिजम रबर ग्राम विकास समितिको संयुक्त आयोजनामा विर्तामोड नगरपालिका–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वन क्षेत्रमा आज वृक्षरोपण गरिएको हो ।

प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य एकराज कार्कीले रबर खेतीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभयो । समितिका सचिव सीताराम बास्तोलाले कोइरालाको नाममा स्थापना गरिएको फाउण्डेसनले गत वर्ष झापाको बुद्धशान्ति गाउँपालिकामा रबर ग्राम क्षेत्र घोषणा गरी रबरका विरुवा रोप्ने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । प्राकृतिक रुपमा रबर उत्पादनका लागि जिल्लामा रबर खेती गरिदै आएको छ । गोरखकाली रबर उद्योगका लागि चाहिने कच्चा पदार्थ उत्पादनका लागि दुई दशक अघि जिल्लामा रबर खेतीको थालनी भएको थियो । अहिले जिल्लाका थुप्रै स्थानमा रबर खेती फस्टाउँदै गएको छ ।