काठमाडौं, १९ असार । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्ने गरि काममा तिब्र दिएको छ । कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिए संगै क्रियाशील सदस्य छानविन समितिलाई समय मै काम सम्पन्न गर्न दबाब बढेको छ । देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो । पुराना सदस्यहरुको क्रियाशील सदस्यको नवीकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकिकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ ।
क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउपालिका नगरपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानविन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरूलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समयमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भईरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरि टुंगो लगाउने समिति सदस्य घिमिरेले बताए ।
नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए । प्राप्त विवरणमा ३० देखि ५० बर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पाईएको समिति सदस्य घिमिरेले जानकारी दिए । कांग्रेसमा नेतृत्व विकास क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेले बताए ।
कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गते भित्र अनिवार्य रुपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाण्डौमा हुनेछ । कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा काठमाण्डौमा भएको थियो ।
