काठमाडौँ महानगरको शिक्षालाई अब्बल बनाउन ३० बुँदे सोचपत्र

विचार/अन्तर्वार्ता


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र रहेका ९१ सामुदायिक विद्यालय र ६ सय ४० संस्थागत विद्यालयको शिक्षालाई अब्बल बनाउन ३० बुँदे सोचपत्र तयार गरेको छ । काठमाडौँ महानगरपालिका शिक्षा विभागले शुक्रबार काठमाडौँ महानगरपालिकाका ३० सामुदायिक आधारभूत विद्यालय र ६१ माध्यामिक विद्यालयका प्रधानाध्यपकहरुको एक गोष्ठी राखी काठमाडौँ महानगरपालिकाको ऐतिहासिक शिक्षा क्षेत्रलाई अझ्झ अब्बल बनाउन ३० बुँदे सोचपत्र तयार गरेको हो । आवश्यकता अनुसार अझ उक्त सोचपत्रलाई बढाइने पनि काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सिताराम कोइरालाले जानकारी दिनुभयो ।
सामुदायिक तथा निजी शिक्षाको सुधारमा सोचपत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरपालिकाले लिएको छ । सोच पत्रमा हरेक सामुदायिक विद्यालयका प्रधानाध्यापकसंँग गर्नुपर्ने कामको योजनासहित पाँच वर्षे करार सम्झौता गरिने र सम्झौताअनुसार कार्य सम्पादन गर्न नसक्ने प्रधानाध्यापकलाई जिम्मेवारीबाट हटाएर अर्का शिक्षकलाई प्रधानाध्यापक बनाइने व्यवस्था सोचपत्रमा रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग पनि करार सम्झौता गरिने र प्रभावकारी कार्य हुन नसके व्यवस्थापन समति भंगसमेत गर्ने उक्त पत्रमा उल्लेख छ । पछिल्लो समय विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा रहेर राजनीतिक गतिविधिमा लाग्ने प्रवृत्ति अध्यक्षहरूमा बढ्दै गएको देखिए पछि देशले हेरेको काठमाडौँ महानगरपालिकाबाटै यस्तो व्यवस्था गरिन लागिएको हो । शिक्षक नियुक्ति, विद्यालयको भौतिक संरचना निर्माण लगायतका कामलाई प्रभावित पार्न सक्ने भएर पनि यो पदमा धेरैको आकर्षण बढ्ने गरेको देखिएको छ ।
महानगरपालिकाले सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकलाई परिचय पत्र पनि प्रदान गर्ने गर्ने, विद्यार्थी कम भएका स्कुलमा धेरै शिक्षक र धेरै विद्यार्थी भएको स्कुलमा थोरै शिक्षकको व्यवस्था मिलाउन महानगरपालिकाले आउँदो वैशाख एक गतेभित्र दरबन्दी मिलान गरिसक्ने योजना पनि बनाएको सोचपत्रमा उल्लेख छ । ‘दरबन्दी मिलानको क्रममा एउटा स्कुलको शिक्षक अर्को स्कुलमा जानुपर्ने पनि हुनसक्छ । यसमा शिक्षकले चित्त दुखाउनु हुँदैन’, शिक्षा विभाग प्रमुख एवम् शिक्षा अधिकारी सीताराम कोइरालाले भने । उहाँका अनुसार काजको नाममा सम्बन्धित विद्यालयबाट रमाना पत्र नलिइ अन्य स्कुलमा हाजिर गर्न नपाइने, पढाएको पाइएमा विभागीय कारबाही गर्ने, हरेक विद्यालयले मन्त्री, सरकारी अधिकारी, विदेशी पाहुना तथा कुटनीतिक नियोगका अधिकारीलाई अतिथि बनाएर कुनै कार्यक्रम गर्नु परेमा महानगरपालिकालाई अनिवार्य जानकारी गराउनुपर्ने, शिक्षक र विद्यार्थीले वैदेशिक कार्यक्रममा जानुपर्दा अनुमति लिनुपर्ने नियम बनेको छ । यसैगरी काठमाडौँ महानगरपालिकामा शिक्षा विभागले सुपरीवेक्षण समूह बनाई अब हरेक दुई महिनामा कम्तीमा एक पटक प्रत्येक विद्यालय र शिक्षकको कक्षा अवलोकन गर्ने छ । महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक सुधार सोच तयार गरिएको बताउदै भन्नुभयो, सोच कार्यान्वयन गरेरै छाडिने छ । प्रशासक भन्दा शिक्षक राजनीतिक रुपमा बलिया भएका कारण सोच कार्यान्वयनका सन्दर्भमा सरुवा हुनुपर्ने पनि हुन सक्छ । सरुवा सँग मलाई डर छैन । अब पनि सुधार गरिएन भने कहिले सुधार गर्ने, हामीले सुधार गरेनौ भने कस्ले सुधार गर्ने ? सोच मार्फत आगामी शैक्षिक सत्र २०७६ बाट काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा स्थानीय पाठ्क्रम अनिवार्य रुपमा लागू गरिने, सबै विद्यालय एकै प्रकारको पोसाक लागू गर्ने, सबै विद्यालय एकै दिन खुल्ने र एकै दिन बन्द हुने, संस्थागत विद्यालयको बोर्ड नेपाली भाषामा अनिवार्य गरि राख्नुपर्ने, हरित विद्यालय बनाइनु पर्ने, शिक्षकको तलब, शिक्षकको व्यक्तिगत खातामा नै भुक्तानी गरिने लगायतका योजनालाई अगाडि सारिएको छ । महानगरपालिकाभित्र ९१ सामुदायिक, ६ सय ४० सामुदायिक विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयमा ४० हजार ५ सय ७९ र संस्थागत विद्यालयमा कूल १ लाख ७५ हजार ६ सय २० विद्यार्थी अध्यनरत छन् ।
कार्यक्रमलाई २ सत्रमा विभाजन गरी गरिएको उक्त कार्यक्रममा पहिलो सत्रका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले नेपाल सरकारको उच्च पदस्थमा पुगेकाहरु विगतमा काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयहरुमै पढेका व्यक्तित्वहरु रहेका छन् । पछिल्लो समयमा स्थानीयहरुले काठमाडौँको सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीहरुलाई नपढाउने सुनिन आएको हुँदा काठमाडाँै महानगरपालिकाले काठमाडौँका स्थानीय बासिन्दाहरुलाई पनि सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी पढ्न पठाउने वातावरण सिर्जना गर्न महानगरपालिका लागेको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका भित्रका उत्कृष्ठ विद्यालय र उत्कृष्ठ शिक्षकलाई पुरस्कृत गरि प्रतिस्पर्धामा ल्याउने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले देश संघीयतामा गएको, शिक्षा स्थानीय तहमा आएको परिपेक्ष्यमा देशै भरका स्थानीय तहहरुले काठमाडौँ महानगरपालिकालाई हेरिरहेको हुँदा काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग नमूना हुने बताउनुभयो ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सामुदायिक विद्यालयहरुमा ५ वटा समस्या छन् । तिनीहरु हुन्– विद्यार्थीहरु आएनन्, उनै विद्यार्थी आए, विद्यार्थीहरु बसेनन्, विद्यार्थीहरुले सिकेनन्, विद्यार्थीहरु विकेनन् । यी ५ समस्यालाई शिक्षामा सरोकारवाला हामी सबैले एकपल्ट म म भनि स्वीकार गरि सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार गर्न सक्छौ । पहिलेको शिक्षा विभाग, अहिलेको शिक्षा तथा मानव श्रोत विकास केन्द्र पनि लागिरहेको छ । तपाईहरुपनि आजै देखि लाग्नुहोस् । जिल्ला शिक्षा काठमाडाँै समन्वय इकाईका प्रमुख एवम् शिक्षा अधिकारी नन्दलाल पौडेलले सामुदायिक विद्यालयहरुमा भोको पेटमा बालबालिकाहरु पढ्न आउने धेरै देखेको छु । भोको पेटमा सामुदायिक विद्यालयमा बालबालिकाहरुले पढ्न सक्दैनन् । त्यस तर्फपनि हामी सबैको ध्यानाकर्षण हुनु आवश्यक छ । विभिन्न जिल्लामा आफ्नो अनुभवमा विद्यालय सुधार गर्ने प्रधानाध्यापक एवम् शिक्षकहरु कार्यालय आएको पाइदैन । कार्यालयमा काम कम गर्ने, गफ बढी गर्ने शिक्षकहरु आउने गरेको मैले पाएको छु । सामुदायिक विद्यालयको शिक्षामा सानो भन्दा सानो कुरा बाटै राम्रो गर्न सकिन्छ भन्दै सामुदायिक विद्यालयको शिक्षा सुधार भैरहेको र अझ राम्रो हुने अपेक्षा आफूले लिएको बताउनुभयो । काठमाडौँं महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच निर्माण गोष्ठी काठमाडौँ महानगरपालिका शिक्षा विभागले आयोजना गरेको थियो भने सहकार्य वन्यजन्तु संरक्षण संघ नेपालले गरेको थियो । कार्यक्रममा वन्यजन्तु संरक्षण संघ नेपालका कार्यकारी निर्देशक प्रा.डा. सुर्य रत्न गुभाजु लगायतका वाक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रममा स्थानीय पाठ्यक्रमको विद्यमान अवस्थाको बारेमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभएको थियो भने स्थानीय पाठ्यक्रमको अभ्यासमा संजीवनी योञ्जनले चितवन जिल्ला र रसुवा जिल्लाको स्थानीय पाठ्यक्रमको बारेमा बताउनुभएको थियो ।

Facebook Comments Box