शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

मुख्य समाचार राजनीति

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको जन्म विक्रम सम्वत् २००३ सालमा डडेल्धुरा जिल्लाको असीग्राम गाविस वडा नम्वर ५ रूवाखोलामा भएको हो । पत्नी आरजू राणा देउवा र छोराका साथ हाल उनी बूढानिलकण्ठ नगरपालिका काठमाण्डौमा बसोवास गर्छन् । त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानूनमा स्नातक गरेका देउवाले सोही विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतीर्ण गरेका छन् । उनी सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिशर्च फेलो थिए ।

सुदूर पश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित भएका शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको छात्र विभाग– नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुन् । पछि उनले नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी समूहलाई समाहित गर्न नेतृत्वदायिनी भूमिका निर्वाह गरेका थिए ।

प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने नेपाली काङ्ग्रेसको नेताका हैसियतले शेरबहादुर देउवा विश्व समाजवादी आन्दोलनसँग पनि अभिन्न रूपले जोडिएका छन् । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेशनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म त्यो अन्तर्राष्ट्रिय समाजवादी संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तराष्ट्रिय उपाध्यक्ष छन् ।
नेपाली काङ्ग्रेसका सभापति देउवाले शुरूमा गृहमन्त्रीको पद सम्हाल्दै सन् १९९५ देखि २००५ सम्म एक दशकको अवधिभित्र तीनपटक मुलुकको प्रधानमन्त्री भए । ५० वर्ष भन्दा बढी समय राजनीतिमा समर्पित देउवा सन् ६० को दशकदेखि हालसम्म निरन्तर प्रजातान्त्रिक राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिकालदेखि नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्रको पुनर्वहालीको आन्दोलनका क्रममा पटक–पटक गरी करिव १० वर्षभन्दा देउवाले विभिन्न जेलमा बिताउनु परेको थियो । सन् २००४–२००५ मा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट बर्खास्त गरी १० महिना नजरबन्दमा समेत राखेका थिए ।

उनी २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात सम्पन्न तीनवटा संसदीय निर्वाचनमा आफ्नो गृह जिल्ला डडेलधुराको एकल निर्वाचन क्षेत्रबाट भारी वहुमतले विजय प्राप्त गरी संसदमा प्रतिनिधित्व गरेका थिए भने विसं. २०६४ र २०७० मा सम्पन्न संविधानसभाका दुवै चुनावमा डडेलधुरा र कञ्चनपुर तथा डडेलधुरा र कैलाली गरी दुई–दुई ठाउँबाट देउवाले अत्याधिक मतान्तरका साथ विजय हात पार्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

आफैँ पनि पछिडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट आएका देउवाले देशका पछिडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेश (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गर्ने प्रयत्न गरेका थिए ।

उनकै पालामा कमैया मुक्तिको घोषणा हुनुका साथै मुक्त कमैयाहरूलाई पुनस्र्थापना गरिएको थियो । त्यसका साथै प्रधानमन्त्रीका हैसियतमा उनले भूमिहीन थारूहरूलाई जग्गा उपलव्ध गराउने र सीमान्तकृत वर्गका जनतालाई सुविधा दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गराएका थिए । देउवाले देशमा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमीनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गरेका थिए । उनको नेतृत्वमा संसदले मुलुकी ऐनको ११ औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराएको थियो । साथै पूर्व–पश्चिम राजमार्गको कर्णाली–चिसापानी पश्चिमको खण्डमा २२ वटा पक्की पुलको निर्माण गराई मुलुकको बाँकी भागबाट अलग–थलग रहेको सुदूरपश्चिमाञ्चललाई राष्ट्रिय यातायात सञ्जालसँग जोडेका थिए । उनकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए ।