संसद बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

मुख्य समाचार राजनीति

काठमाण्डौ । सरकारले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधिसभा बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । त्यस्तै सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।